देशको वर्तमान सुरक्षा अवस्थाबारे प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत छलफल गरेकी छन्।
मध्यान्ह सुरु भएको बैठकमा प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए। बैठक करिब दुई घण्टा चलेको बताइएको छ।
छलफलका क्रममा देशभर भइरहेका गतिविधि, सुरक्षा चुनौती र सम्भावित जोखिमबारे सुरक्षा प्रमुखहरूले आ–आफ्नो मूल्यांकन प्रस्तुत गरेका थिए। साथै, विभिन्न समूहहरूले प्रदर्शनको तयारी गरिरहेको सूचनाबारे पनि बैठकमा चर्चा भएको गृहमन्त्री अर्यालले जानकारी दिए।
बैठकपछि गृह मन्त्रालयका स्रोतका अनुसार, सरकार र सुरक्षा निकायबीच थप समन्वय र सतर्कता बढाउने सहमति भएको छ।
