
काठमाडौं । संघीय संसद्का ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरूले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी, जलवायु परिवर्तन, विधेयक तथा संघीयता कार्यान्वयनलगायतका विषयमा छलफल गर्ने भएका छन् ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १० बजे बस्दैछ । समितिले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र मन्त्रालयका सचिवलाई बोलाएर भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भएको क्षति, उद्धार, राहत तथा पुनःस्थापनाका कामबारे छलफल गर्नेछ । यस्तै, कामका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी रणनीतिबारे पनि छलफल हुनेछ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ । समितिले बाढी प्रभावित क्षेत्र, राहत शिविर तथा अस्थायी आश्रयस्थलमा रहेका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहलाई यौन शोषण, हिंसा, दुर्व्यवहार र सबै प्रकारका उत्पीडनबाट कसरी संरक्षण गर्ने भन्ने विषयमा छलफल गर्नेछ ।
अर्थ समितिको बैठक पनि बिहान ९ः३० बजे बस्नेछ । समितिले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, सचिव, कानुन मन्त्रालयका सचिव र नेपाल राष्ट्र बैंकका प्रमुखलाई बोलाएर नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्नेछ ।
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक दिउँसो १२ः१५ बजे बस्नेछ । समितिले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालमा परेको गम्भीर क्षति, विपद्जन्य समस्या तथा आगामी दिनमा गर्नुपर्ने कामबारे विषयविज्ञ र सरोकारवाला संस्थासँग छलफल गर्नेछ ।
छलफलमा जलवायु परिवर्तन अनुकूलन योजना, जलवायुजन्य विपद् जोखिम व्यवस्थापन, जलवायु वित्तको प्राप्ति तथा उपयोग, अन्तर्राष्ट्रिय कूटनीतिक पहल र आगामी जलवायु परिवर्तन सम्मेलनमा नेपालले उठाउनुपर्ने विषयलगायत समेटिनेछन् ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे बस्नेछ । समितिले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि दफावार छलफल गर्नेछ ।
यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ः३० बजे बस्नेछ । समितिले संघीयता कार्यान्वयन तथा सबलीकरणका विषयमा विज्ञहरूसँग छलफल गर्नेछ ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
