
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर कमजोर भएको गुनासो बढेपछि नेपाल दूरसञ्चार प्राधिकरणसँग सेवाको अवस्थाबारे जानकारी माग गरेका छन् ।
बिहीबार प्राधिकरणका पदाधिकारीसँग छलफल गर्दै मन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवाको अवस्था, गुणस्तर परीक्षण, नियमन तथा सेवा विस्तारबारे जानकारी लिएका हुन् । उनले गुणस्तर अनुगमनसम्बन्धी नियमित प्रतिवेदन मन्त्रालयमा पेश गर्न पनि प्राधिकरणलाई निर्देशन दिएका छन् ।
मन्त्री तिमिल्सिनाले काठमाडौं उपत्यकाजस्तो क्षेत्रमा समेत टेलिफोन तथा इन्टरनेट सेवा कमजोर हुनु गम्भीर विषय भएको बताए । नागरिकलाई भरपर्दो, गुणस्तरीय र सहज दूरसञ्चार सेवा उपलब्ध गराउन नियामक निकाय र सेवा प्रदायक दुवै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।
“दूरसञ्चार सेवाको पहुँच र गुणस्तर कमजोर भयो भन्ने गुनासो अझै हट्न सकेका छैनन् । त्यसमा जसरी पनि सुधार गर्नैपर्नेछ । नागरिकका आकांक्षा पूरा गर्ने गरी काम गर्नुको विकल्प छैन,” उनले भने ।
मन्त्री तिमिल्सिनाले न्यून गुणस्तरको सेवा दिने तथा तोकिएको मापदण्ड पूरा नगर्ने सेवा प्रदायकमाथि कानुनअनुसार कारबाही गर्न निर्देशन दिएका छन् । गुणस्तर परीक्षणका लागि आवश्यक उपकरण र संयन्त्रको पर्याप्त व्यवस्था गरी नियमित अनुगमन गर्न तथा त्यसको प्रतिवेदन मन्त्रालयमा बुझाउन पनि उनले भनेका छन् ।
उनले प्राधिकरणलाई समस्या आएपछि मात्र प्रतिक्रिया दिनेभन्दा सक्रिय रूपमा सेवाको अवस्था पहिचान गरी सुधारका लागि तत्काल कदम चाल्न निर्देशन दिएका छन् । फोरजी सेवा विस्तार तथा फाइभजी सेवा सुरु गर्ने विषयमा पनि स्पष्ट कार्ययोजना बनाएर अघि बढ्न उनले प्राधिकरणलाई भनेका छन् ।
छलफलमा प्राधिकरणका पदाधिकारीले गुणस्तर परीक्षण तथा अनुगमनका क्रममा देखिएका समस्या र चुनौतीबारे जानकारी गराएका थिए । प्राधिकरणका अनुसार गुणस्तर परीक्षणका लागि आवश्यक सवारीसाधन तथा ड्राइभ टेस्टका उपकरण पर्याप्त छैनन् ।
उपकरण खरिदका विगतका केही प्रक्रिया कानुनी विवादमा परेकाले पनि गुणस्तर परीक्षण तथा अनुगमनमा समस्या भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले दूरसञ्चार सेवा गुणस्तरसम्बन्धी मापदण्ड जारी गरिसकेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन गर्न नसकेको स्वीकार गरेको छ ।
विद्यमान व्यवस्थाअनुसार सेवा प्रदायकले आफैँ ड्राइभ टेस्ट गरी प्रत्येक तीन महिनामा प्राधिकरणलाई गुणस्तरसम्बन्धी प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ । सेवा गुणस्तर न्यून भएको पाइएमा सम्बन्धित सेवा प्रदायकलाई सचेत गराउने गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार सेवा गुणस्तर सुधारका लागि सेवा प्रदायकले पूर्वाधारमा थप लगानी गर्नुपर्ने भए पनि पर्याप्त लगानी हुन सकेको छैन । आवश्यक फ्रिक्वेन्सी पर्याप्त रूपमा उपलब्ध गराउन सके सेवा गुणस्तर सुधारमा सहयोग पुग्ने पनि प्राधिकरणका पदाधिकारीले बताएका छन् ।
प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले देशभर दूरसञ्चार सेवाको नियमित अनुगमन तथा निरीक्षण भइरहेको जानकारी दिए । न्यूनतम गुणस्तर मापदण्ड पूरा नगर्ने सेवा प्रदायकमाथि कानुनअनुसार कारबाही गरिने उनले बताए ।
“टेलिफोन सेवाको गुणस्तर कमजोर भएको सन्दर्भमा हामीले सेवा प्रदायकलाई यसअघि सचेत गराउँदै आएका छौं । अब कानुनअनुसार कति कारबाही र जरिवाना गर्न सकिन्छ, हामी गर्छौं,” अध्यक्ष घिमिरेले भने ।
उनले टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तरको नियमित अनुगमनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
