
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण ६७ अर्ब ८७ करोड रुपियाँ बराबरको क्षति भएको छ । बाढीबाट भएको क्षतिको पुनरुत्थानका लागि १ खर्ब ३ अर्ब ५४ करोड रुपियाँ आवश्यक पर्ने आकलन गरिएको छ ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन (आरडिएनए) प्रतिवेदन’ अनुसार बाढीका कारण ७ हजार ५७० वटा निजी घर ध्वस्त भएका छन् ।
घर र घरभित्र रहेको सम्पत्तिसहित ६३ अर्ब ८८ करोड ४८ लाख रुपियाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ । यसको पुनरुत्थानका लागि ९५ अर्ब ८२ करोड ७२ लाख रुपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
बाढीका कारण ४८ वटा सार्वजनिक भवनमा पनि क्षति पुगेको छ । तीमध्ये ३५ वटा पूर्ण रूपमा ध्वस्त भएका छन् भने १३ वटामा आंशिक क्षति पुगेको छ । भवन तथा भवनभित्र रहेको सम्पत्तिसहित २ अर्ब ६४ करोड ५९ लाख रुपियाँ बराबरको क्षति भएको छ । यसको पुनर्निर्माणका लागि ४ अर्ब २३ करोड रुपियाँ आवश्यक पर्ने आकलन छ ।
त्यस्तै, १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा र ७ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । विद्यालयका भवन तथा अन्य सम्पत्तिमा ९३ करोड ७३ लाख रुपियाँ बराबरको क्षति भएको छ भने पुनरुत्थानका लागि २ अर्ब ३४ करोड रुपियाँ आवश्यक पर्ने देखिएको छ ।
स्वास्थ्य सेवातर्फ ७ वटा भवन प्रभावित भएका छन् । तीमध्ये ४ वटा पूर्ण रूपमा ध्वस्त र ३ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । स्वास्थ्य क्षेत्रको क्षति २३ करोड ६६ लाख रुपियाँ रहेको छ भने पुनरुत्थानका लागि ७८ करोड रुपियाँ आवश्यक पर्ने अनुमान छ ।
बाढीले सांस्कृतिक तथा धार्मिक सम्पदामा पनि क्षति पुर्याएको छ । प्रारम्भिक अध्ययनअनुसार ३० वटा सांस्कृतिक तथा धार्मिक क्षेत्र प्रभावित भएका छन् । ती क्षेत्रमा १४ करोड ७७ लाख रुपियाँ बराबरको क्षति भएको छ भने पुनरुत्थानका लागि ३६ करोड ५९ लाख रुपियाँ आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार सामाजिक क्षेत्रमा निजी तथा सार्वजनिक भवन र संरचनामा ठूलो क्षति पुगेको छ । प्रभावित संरचनामध्ये निजी भवनको हिस्सा २६.९ प्रतिशत रहेको छ भने मूल्यका आधारमा यसको क्षतिको हिस्सा ७३.४ प्रतिशत छ ।
सिमेन्टले बनेका भवन प्रभावित संरचनाको ४२.५ प्रतिशत छन् भने मूल्यका आधारमा यसको हिस्सा २०.८ प्रतिशत रहेको छ । माटोले बनेका भवन प्रभावित संरचनाको ३०.६ प्रतिशत छन् भने मूल्यका आधारमा क्षतिको हिस्सा ५.८ प्रतिशत छ ।
बाढीबाट भन्सार कार्यालय, प्रहरी चौकी, सरकारी कार्यालय, स्वास्थ्य भवन, नेपाली सेना, कारागार, धार्मिकस्थल, अन्त्येष्टिस्थल, खेलकुद संरचना, ज्येष्ठ नागरिक भवन, सभाहल, सरकारी बैंक तथा सामुदायिक भवनलगायतका संरचनामा पनि क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
