बाराको सिमरामा आज भएको झडपले राजनीतिक गतिविधि र सुरक्षाको गम्भीर प्रश्न खडा गरेको छ
बाराको सिमरा विमानस्थलमा आज बिहान सुरु भएको तनाव दिउँसोसम्म आइपुग्दा कर्फ्यू घोषणासम्म पुग्यो। नेकपा एमालेका नेता कार्यकर्ता र जेनजी युवाहरूबीच भएको झडपले विमानस्थलको गेटसम्म भत्काइदियो, उडानहरू रद्द भए र स्थानीय प्रशासनले कडा कदम चाल्न बाध्य भयो। यो घटनाले राजनीतिक अधिकार, युवा आन्दोलन र सुरक्षा व्यवस्थाका बारेमा गम्भीर बहस खडा गरेको छ।
घटनाक्रम
नेकपा एमालेले बाराको परवानीपुरमा आज मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो। कार्यक्रमका मुख्य अतिथि एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत काठमाडौंबाट सिमरा हुँदै बारा जाने तय थियो तर युवा भेलाको खबर पाएसँगै स्थानीय युवाहरूले जेनजीको नाममा विरोध कार्यक्रम घोषणा गरे।
बिहानैदेखि सिमरा क्षेत्रमा युवाहरू जम्मा हुन थाले अर्कोतिर, एमालेका नेताहरू पार्टी महासचिवलाई स्वागत गर्न विमानस्थलतर्फ लाग्दा बाटोमै दुवै पक्षबीच वादविवाद भयो। तनाव चर्किँदै गएको थियो।
स्थानीयहरूका अनुसार, बाटोमा भएको वादविवादका क्रममा एमालेका एक नेताले एक युवालाई थप्पड हाने। यसले स्थितिलाई एकैछिनमा तनावग्रस्त बनायो। आक्रोशित युवाहरू विमानस्थलतर्फ लागे र तोडफोड सुरु गरे।
विमानस्थलको मुख्य प्रवेशद्वारमा दुई जना मात्र प्रहरी खटिएका थिए। युवाहरूले फलामको गेट बाहिरबाट धकेल्न थाल्दा भित्रबाट ती प्रहरीले रोक्न खोजे, तर सकेनन्। गेट भाँचिएर प्रहरीकै माथि खस्यो। केही युवाहरू भित्र छिरे पनि केहीबेरमै प्रहरीले बाहिर निकाल्यो।
कर्फ्यू घोषणा
तनाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कर्फ्यू आदेश जारी गर्यो। गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न प्रतिबन्ध लगाइयो।
विमानस्थल बन्द उडाननै भयो रद्द
सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेपछि दिनभरका लागि निर्धारित सबै उडान रद्द गरियो। बुद्ध एयरले दैनिक पाँच उडान गर्दै आइरहेको थियो। बुधबार एक मात्र उडान भइसकेको थियो। दोस्रो उडानमा एमालेका नेताहरूसहित जाने तय भएको थियो, तर जहाज धावनमार्ग नपुग्दै फर्काइयो।
काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले कर्फ्यूका कारण आजका लागि निर्धारित उडानहरू रद्द गरिएको जानकारी दिए। एमालेका नेताहरू किशान श्रेष्ठ, अच्युत मैनाली, ज्वाला साहलगायत विमानस्थलभित्रै अड्किए।
एमाले अध्यक्ष ओलीको कडा प्रतिक्रिया
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिमरा प्रकरणपछि सरकारको चुनाव गर्ने क्षमतामाथि नै प्रश्न उठाए। काठमाडौंमा बुधबार आयोजित एमालेको स्थानीय विकास विभागको भेलालाई सम्बोधन गर्दै उनले भने, “बारामा हाम्रो युवा भेला थियो। सिमरा एयरपोर्ट बन्द भयो। हाम्रा नेताहरू जान पाउनुभएन। जानबाट रोकियो। एयरपोर्टमै तोडफोड गर्न दिइयो। ५०-६० जना मान्छे आएर ढुंगामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने? के हो यस्तो?”
उनले सरकारको क्षमतामाथि व्यंग्य गर्दै थपे, “अनि भन्छ चुनाव गर्ने रे? सभा गर्न नदिनेले चुनाव कसरी गर्छ?” भन्दै टिप्पणी गरेको छ्न ।
सिमरा जान रोकिएपछि एमालेकै पोलिटब्युरो सदस्य महेश बस्नेत जसको वरिपरीनै यो घटना घुमेको थियो उनले सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाए। उनले, “राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभामा सिमरा जान लाग्दा एयरपोर्ट अवरोध गरेर जान नदिने जेनजेडको नाममा विभिन्न दल-आबद्ध अराजक भिड उतारेर ५०-६० जना संलग्न त्यति सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यू लगाउनु नैतिकरूपमा गलत कार्य हो।“ भनेका छन् ।
उनले संविधानले दिएको सभा-सम्मेलन गर्ने र स्वतन्त्र विचार राख्ने मौलिक अधिकार हनन भएको आरोप लगाए। “हे कठपुतली सरकार, लोकतन्त्र, विधीको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो?” उनको यो प्रश्न थियो।
विभिन्न दलको फरक स्वर
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निषेधको राजनीति नगर्न आग्रह गरे। उनले सिमरा घटनालाई जेनजी पुस्ताको भावना नभएर दुरुपयोग भएको बताए।
“सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेनजी कसैको समाज भ्रमण अधिकार विरुद्ध उभिन सक्दैनन्। अतः सिमरा घटना जेनजी भावना होइन, त्यसको दुरुपयोग हो,” उनले एक्समा लेखे।
शर्माले भ्रमणको वातावरण नबनाएसम्म चुनाव नहुने भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराए। उनले एमालेलाई चुनावमा आउन र जेनजीविरुद्ध आवेगका अभिव्यक्ति दिएकाहरूलाई संयमित हुन आग्रह गर्नुपर्नेमा जोड दिए।
रास्वपाको चिन्ता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घटनालाई संवेदनशील भनी सरकारको ध्यानाकर्षण माग गर्यो। पार्टी प्रवक्ता मनिष झाले भने, “निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्छ। आज सिमरामा भएको घटना संवेदनशील छ।”
संविधानविद् आचार्यको प्रश्न
संविधानविद् भीमार्जुन आचार्यले सामाजिक संजालमा लेखे, “नेताहरूलाई आफ्ना सभा सम्मेलनमा जान रोक लगाउने, आफ्ना कार्यकर्ता वा जनताका माझ जान अवरोध पुर्याउने हो भने कसरी चुनाव हुन्छ? अनि यस्तो काम गर्न पाइन्छ कसरी? जेनजीका भाइबहिनीहरूले यसमा हेक्का राख्नु पर्यो। उत्तेजना बढाउने काम कसैको हितमा हुँदैन।”
सिमरा घटनाले धेरै प्रश्न खडा गरेको छ। के यो साँच्चै जेनजी युवाहरूको स्वतःस्फूर्त आन्दोलन थियो कि राजनीतिक दलहरूले युवा भावनाको दुरुपयोग गरे?
महामन्त्री शर्मा र संविधानविद् आचार्यले दुवैले जेनजी भावनाको दुरुपयोग भएको आशंका व्यक्त गरे। अर्कोतिर, एमालेले पूर्ण रूपमा विभिन्न दल आबद्ध अराजक भिड भएको आरोप लगायो।
यो घटनाले तीनवटा गम्भीर मुद्दा उठाएको छ पहिलो, राजनीतिक दलको संवैधानिक अधिकार सभा सम्मेलन गर्ने, विचार राख्ने र जनतामाझ जाने अधिकार कुण्ठित हुन सक्दैन। दोस्रो, सरकारको सुरक्षा दायित्व ५०–६० युवाको साधारण घटना नियन्त्रण गर्न नसकेर कर्फ्यू लगाउनु सुरक्षा संयन्त्रको कमजोरीलाई औंल्याउँछ। तेस्रो, युवा आन्दोलनको प्रामाणिकता जेनजीको नाममा राजनीतिक एजेन्डा चलाउन खोजिएको छ कि छैन भन्ने स्पष्ट हुनुपर्छ।
आजको सिमरा घटना नेपाली राजनीतिमा बढ्दो असहिष्णुता र निषेधको संस्कृतिको प्रतीक बन्न पुगेको छ। चुनाव नजिकिँदै गर्दा राजनीतिक दलहरूलाई आफ्नो कुरा राख्ने, जनतामाझ पुग्ने र अभियान चलाउने खुला वातावरण चाहिन्छ। सरकारले पर्याप्त सुरक्षा दिनुपर्छ।
युवाहरूको ऊर्जा र आवेग पनि सकारात्मक परिवर्तनका लागि उपयोग हुनुपर्ने हो विध्वंसका लागि होइन। राजनीतिक दलहरूले युवा भावनाको दुरुपयोग गर्नु हुँदैन र सुरक्षा निकायले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ।
यो समय संयम र एकताको समय भएकाले । निषेधको राजनीति होइन, बहस र संवाद चाहिन्छ। यस घटनाबाट सबैले पाठ सिक्नुपर्छ -हिंसा र अवरोध कसैको पनि हितमा हुँदैन।

