नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीले आगामी केही दिनमै राजीनामा दिने दाबी गरेका छन्। शुक्रबार एमालेलिनै आयोजित नेसनल युथ भोलेन्टियर फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री कार्कीलाई सक्रिय राजनीतिबाट अलग हुने सुझाव पनि दिएका हुन्।
बस्नेतले सुशीला कार्कीलाई ‘राजनीतिबाट बिदा लिएर’ छोराछोरीको साथमा बेलायतमा बस्दै बिरामी पति र आफ्नो स्वास्थ्य उपचारमा ध्यान दिनुपर्ने टिप्पणी गरे। उनका अनुसार भृकुटीमण्डपमा भोलि आयोजना हुने सभामा उपत्यका र छिमेकी जिल्लाबाट करिब ६० हजार एमाले कार्यकर्ता सहभागी हुनेछन्।
उनले प्रधानमन्त्री कार्कीलाई आफूले ‘राजनीतिले अचानो बनायो’ भन्ने धारणा दोहोर्याउन नहुने सुझाव दिँदै, सरकार चलाउने जिम्मा राजनीतिक दल र तिनका नेताहरूका हातमै रहनुपर्ने उल्लेख गरे।
बस्नेतले मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेखेका स्टाटसले देशलाई अस्थिरतामा धकेल्ने प्रयास भएको आरोप लगाउँदै अब राष्ट्रिय युवा स्वयंसेवक फोर्सले लोकतन्त्र र स्थिरताको रक्षा गर्ने दाबी गरे।
