उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ का लागि पार्टी तर्फबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूसँग आवेदन आह्वान गरेको छ। प्रत्यक्ष तर्फ १६५ क्षेत्र र समानुपातिक समावेशी प्रणालीअन्तर्गत ११० सदस्यका लागि आवेदन मंसिर २५ सम्म खुला रहेको पार्टीले जनाएको छ। इच्छुक उम्मेदवारका लागि आवश्यक फाराम तथा विस्तृत जानकारी पार्टीको संघीय कार्यालय र आधिकारिक वेभसाइटमा उपलब्ध छ।
पार्टीले मङ्सिर १७ गते आफ्नो घोषणापत्र पनि सार्वजनिक गर्दै देशको निर्वाचन र शासकीय संरचनामा व्यापक सुधार आवश्यक भएको निष्कर्ष प्रस्तुत गरेको थियो । घोषणापत्रले समानुपातिक सांसद एक कार्यकाल मात्र हुने व्यवस्था, स्थानीय तहमा गैरदलीय चुनाव, र संघीय संरचनाको पुनरावलोकन जस्ता विषयमा जोड दिएको छ।
संघीयता र शासन प्रणालीमा ‘व्यावहारिक सुधार’को प्रस्ताव
घोषणापत्रमा संघीयताको अभ्यासलाई परिणाममुखी बनाउन प्रदेश तथा स्थानीय तहको संरचना जनसङ्ख्या, भूगोल र आर्थिक सम्भावनाअनुसार पुनर्समीक्षा गरिनुपर्ने उल्लेख छ। मन्त्रालयको सङ्ख्या सम्बन्धी व्यवस्थामा पनि पुराना अध्ययनका आधारमा पुनरावलोकन गर्नुपर्ने पार्टीको धारणा छ।
संविधानलाई “गतिशील दस्तावेज” को रूपमा व्याख्या गर्दै पार्टीले आवश्यक पढेअनुसार केही व्यवस्थाहरू सुधार गर्नुपर्ने तर्क राखेको छ। मन्त्री छनोट प्रक्रियामा सुधारका लागि सांसद नभएकालाई मन्त्री बनाउन सकिने तर संवेदनशील मन्त्रालयका प्रमुख–मन्त्री भने संसद् सदस्यकै हुनुपर्ने प्रस्ताव पनि समावेश गरिएको छ।
भ्रष्टाचार विरुद्ध कडा नीति, राज्यको दायित्व विस्तार
घोषणापत्रले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता नीति अपनाउने र अवैध रूपमा आर्जित सम्पत्ति जफत गर्ने व्यवस्था कडाइका साथ लागू गर्ने प्रतिबद्धता जनाएको छ। साथै राज्यको क्षमता बढाएर गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यलाई ‘राज्यको अनिवार्य दायित्व’ बनाउने लक्ष्य राखिएको छ।
स्वदेश र विदेशमा रहेका सक्षम र मेधावी नागरिकलाई पार्टीमा आबद्ध हुन आह्वान गर्दै उज्यालो नेपाल पार्टीले स्वदेशी पुँजी परिचालनमार्फत रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजना पनि सार्वजनिक गरेको छ।

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
