प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेन–जी आन्दोलनको रगतमा आराम गर्न वा यशोआराम गर्न आएको नभएको स्पष्ट पारेकी छन् । सोमबार आयोजित सर्वदलीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकारमाथि लागिरहेका आरोप–प्रत्यारोपको सामना गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै त्यसलाई मुलुककै हितका लागि सहने बताइन् ।
प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गते भएका घटनाहरू विगतका त्रुटि र कमजोरीको परिणाम भएको उल्लेख गरिन् । ती घटनाबाट उत्पन्न आवेग र आलोचनालाई सरकारले अहिले पनि भोगिरहेको भन्दै उनले जेन–जी र राजनीतिक दल दुवैतर्फबाट आलोचना भइरहेको अवस्थामा सरकार अचानो बनेर बस्न नसक्ने धारणा राखिन् ।
उनले भनिन्, “हिजो के–कस्ता त्रुटि भए, जसको परिणाम भदौ २३ र २४ का घटना बने, त्यसको आवेग आज हामीले भोगिरहेका छौँ । आज हामी जेन–जी र राजनीतिक दल दुवैतर्फबाट आलोचनाको केन्द्रमा छौँ । तर मुलुकका लागि हो भने यस्तो आलोचना सहन हामी तयार छौँ ।”
प्रधानमन्त्री कार्कीले आफूहरू देशमै जन्मेर हुर्किएको र लामो समय राष्ट्रको नुन खाएको स्मरण गर्दै देशका लागि केही गर्नुपर्छ भन्ने भावना सरकारको मूल सोच भएको बताइन् । अघिल्ला सरकारहरूले जे–जसरी शासन सञ्चालन गरे, अहिलेको सरकारले के गरिरहेको छ भन्ने विषयमा वस्तुगत मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो ।
उनले राजनीतिक दलहरूको पहिलो दायित्व जनताको सेवा भएको स्पष्ट पार्दै जनताको वर्तमान चाहना र अपेक्षा बुझ्न जरुरी रहेको बताइन् । दलभित्रका असन्तुष्टि, भागबण्डा नमिलेका विषय वा आन्तरिक विवादको नकारात्मक असर जनतामाथि पर्न नहुनेमा उनले जोड दिइन् ।
“यहाँ कोही वादी र प्रतिवादी छैन । आफ्नो असन्तुष्टि राख्नु स्वाभाविक हो । तर अन्ततः देशको सबैभन्दा महान शक्ति भनेको जनता नै हुन्,” प्रधानमन्त्री कार्कीले भनिन्, “राजनीतिक दल दोस्रो कुरा हो, पहिलो कुरा जनताको सेवा हो । जनताको अहिलेको माग के हो, त्यो बुझ्नैपर्छ ।”
प्रधानमन्त्री कार्कीले अहिलेको मुख्य चुनौती युवा वर्गलाई कसरी नेतृत्वको अग्रपंक्तिमा ल्याउने र कसरी मुलुकको सत्ता र शासन प्रणालीलाई अगाडि बढाउने भन्ने रहेको उल्लेख गरिन् ।
उनले एक–दुई दल बाहेक निर्वाचन हुन नहुने भन्ने धारणा कसैको नरहेको पनि बताउँदै लोकतान्त्रिक प्रक्रियाबाट अघि बढ्नु नै देशको स्थायित्व र शान्तिको आधार भएको धारणा व्यक्त गरिन् ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
