फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अब ६८ दिन बाँकी रहँदा निर्वाचन आयोगले अस्थायी मतदाता को–को हुने भन्ने स्पष्ट पारेको छ।
आयोगका अनुसार अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी अस्थायी मतदाता हुनेछन्।
यसैगरी, व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी पनि अस्थायी मतदाताको सूचीमा रहनेछन्।
नेपाल सरकार, प्रदेश वा स्थानीय तहले सञ्चालन गरेको वा स्वीकृत लिई सञ्चालन भएका वृद्धाश्रममा बस्ने व्यक्ति, संवैधानिक निकायका प्रमुख र पदाधिकारी पनि अस्थायी मतदाता हुने व्यवस्था गरिएको छ।
अस्थायी मतदाता नामावली समन्वय समितिको संयोजक निर्वाचन आयुक्त रहनेछन्। समितिमा विभिन्न मन्त्रालयका सचिव, निर्वाचन आयोगका अधिकारी र सम्बन्धित शाखाका प्रतिनिधि रहने व्यवस्था छ।
जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकाय र कारागार प्रमुख सदस्य रहनेछन् भने निर्वाचन अधिकारी सदस्य सचिव हुनेछन्।
अस्थायी मतदाता नामावली तयार गर्न सम्बन्धित निकायले कर्मचारीको विवरण विद्युतीय रूपमा निर्वाचन कार्यालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ। निर्वाचन अधिकृतले तोकिएको ढाँचामा अस्थायी मतदाता नामावली तयार गर्नेछन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
