प्रतिनिधिसभा निर्वाचन आउन अब २२ दिन मात्र बाँकी छ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ निर्वाचन आयोगले मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।
मतदान प्रक्रियालाई सहज र सरल बनाउन तथा बदर हुने मतको प्रतिशत घटाउन आयोगले आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रूपमा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। देशभरका ७५३ वटै स्थानीय तहका ६ हजार ७४३ वडामा एक/एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी कार्यक्रम सञ्चालन गरिनेछ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार स्वयंसेवकले मतदाताको घर र बस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे जानकारी गराउने छन्।
आयोगले विगतदेखि नै सबै स्थानीय तहमा एक/एक जना सम्पर्क व्यक्ति तोक्दै आएको थियो। सोही सम्पर्क व्यक्तिलाई मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ताका रूपमा तोकिएको छ। आयोगको विश्वास छ कि मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउने र बदर मतको अनुपात घटाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउन आयोगले सातै प्रदेश सरकार, ७५३ वटै स्थानीय तह, निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगतलगायत सम्पूर्ण सरोकारवालासँग सहयोगको अनुरोध गरेको छ।
आमनागरिकलाई मताधिकारको महत्व र मतदान प्रक्रियाबारे जानकारी दिने लक्ष्यका साथ मतदाता शिक्षा कार्यक्रम अगाडि बढाइएको आयोगले जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
