२०८२ चैत्र २० | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
रिक्त स्थानीय तहमा कर्मचारी पठाउन मन्त्रालय सक्रिय ७८ पालिकामा अधिकृत नियुक्त | सम्पत्ति शुद्धीकरण प्रकरण: दीपक भट्टमाथि १० दिन थुनामा राख्न अदालतको आदेश | बादलको अभिव्यक्तिपछि एमालेमा हलचल सचिवालय बैठक बोलाइयो | सार्वजनिक सेवा र कर्मचारी आचरणमा सुधारका लागि मुख्य सचिवले दिए सबै निकायलाई कडा निर्देशन | ‘राष्ट्रघाती सन्धी’ भन्दै एमसीसी खारेज गर्न हर्क साम्पाङको माग | नेतृत्वविरुद्ध आवेगात्मक टिप्पणी नगर्न सुहाङ नेम्वाङको अपिल | कडा टिप्पणीसहित एमालेले दियो प्रधानमन्त्री बालेन शाहलाई बधाई | संख्याको बलमा प्रतिशोध नहुने, सुशासन नरोकिने : सभापति रवि लामिछाने | प्रतिनिधिसभाको रोस्ट्रमबाटै दलित समुदायसँग रवि लामिछानेले मागे माफी | ‘हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं’: रास्वपा सभापति लामिछाने |

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा छ खर्ब ६९ अर्ब ३२ करोड ९४ लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ। अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार माघ मसान्तसम्म उक्त राजस्व सङ्कलन भएको हो।

यो राजस्व सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा ३.४५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको माघ मसान्तसम्म छ खर्ब ४२ अर्ब ४५ लाख ३९ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो।

मन्त्रालयले माघ मसान्तसम्म कुल आठ खर्ब १३ अर्ब ६३ करोड १२ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो। सात महिनाको अन्त्यसम्म लक्ष्यको तुलनामा ८१.४३ प्रतिशत मात्र प्रगति हासिल भएको छ।

सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपियाँ कुल राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ। माघसम्म सङ्कलन भएको राजस्व वार्षिक लक्ष्यको ४४.९३ प्रतिशत हो।

भन्सार महसुलतर्फ एक खर्ब ७० अर्ब ५० करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा एक खर्ब ३५ अर्ब ३२ करोड रुपियाँ मात्र सङ्कलन भएको छ, जुन लक्ष्यको ७९.३७ प्रतिशत हो।

मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ माघसम्म दुई खर्ब १७ अर्ब २१ करोड रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखिएकामा एक खर्ब ९६ अर्ब ४४ करोड १७ लाख रुपियाँ सङ्कलन भएको छ। गत वर्ष सोही अवधिमा एक खर्ब ८२ अर्ब ६० करोड रुपियाँ सङ्कलन भएको थियो। भ्याट अन्तर्गत उत्पादन, बिक्री र सेवामा ७.८० प्रतिशत र पैठारीतर्फ ७.४२ प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ।

माघसम्म एक खर्ब १५ अर्ब ९८ करोड ७७ लाख रुपियाँ अन्तःशुल्क सङ्कलन गर्ने लक्ष्य रहेकामा एक खर्ब पाँच अर्ब ४३ करोड रुपियाँ सङ्कलन भएको छ। गत वर्षको माघ मसान्तसम्म ९५ अर्ब नौ करोड रुपियाँ सङ्कलन भएकोमा यस वर्ष १०.८८ प्रतिशतले वृद्धि भएको छ। आन्तरिक उत्पादनतर्फको अन्तःशुल्कमा १०.०५ प्रतिशत र पैठारीतर्फ १३.१४ प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ।

आयकर र अन्य राजस्व (गैरकर) मा भने गिरावट देखिएको छ। आयकरतर्फ गत वर्ष माघ मसान्तसम्म एक खर्ब ५९ अर्ब ९६ करोड रुपियाँ सङ्कलन भएकामा ०.८१ प्रतिशतले घटेर एक खर्ब ५४ अर्ब ६६ करोड रुपियाँ सङ्कलन भएको छ। माघ मसान्तसम्म आयकरको लक्ष्य दुई खर्ब २० अर्ब सात करोड ५४ लाख रुपियाँ थियो।

विभागीय रूपमा हेर्दा भन्सार विभागले माघ मसान्तसम्म दुई खर्ब ७८ अर्ब ४२ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ, जुन गत वर्षको तुलनामा ८.०४ प्रतिशतले बढी हो। यस अवधिमा भन्सार विभागलाई तीन खर्ब ३२ अर्ब ११ करोड उठाउने लक्ष्य दिइएको थियो, जसअनुसार लक्ष्यको ८३.८४ प्रतिशत सङ्कलन भएको छ।

आन्तरिक राजस्व विभागले माघ मसान्तसम्म तीन खर्ब २० अर्ब रुपियाँ सङ्कलन गरेको छ। यो गत आर्थिक वर्षको तुलनामा ४.२१ प्रतिशतले बढी हो। विभागले यस अवधिमा तीन खर्ब ९४ अर्ब १२ करोड रुपियाँ उठाउने लक्ष्य राखेको थियो। सङ्कलन भएको रकम लक्ष्यको ८१.३६ प्रतिशत हो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय