२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सबै सामग्री देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुर्‍याइएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली दुवैतर्फका गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका १६५ निर्वाचन क्षेत्रमा पठाइसकिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को तयारी अहिले अन्तिम चरणमा पुगेको छ।

आयोगले स्वीकृत गरेको कार्यतालिकाअनुसार सबै व्यवस्थापकीय काम तोकिएको समयमै अघि बढिरहेको जनाएको छ। दुवै निर्वाचन प्रणालीका मतपत्र छपाइ सम्पन्न भइसकेको छ र ती सबै जिल्लामा पुगिसकेका छन्। केही सामग्री भने सम्बन्धित जिल्लामै व्यवस्थापन गरिनेछ। निर्वाचन अधिकृतको कार्यालयमार्फत मतदान अधिकृतलाई आवश्यक सबै सामग्री जिम्मा लगाइने आयोगले स्पष्ट पारेको छ।

स्वीकृत कार्यक्रमअनुसार मतदाता शिक्षासम्बन्धी विशेष अभियान फागुन ३ गतेदेखि सुरु भएको छ। यो कार्यक्रम फागुन १७ गतेसम्म देशका ७५३ स्थानीय तहअन्तर्गत ६ हजार ७४३ वडामा निरन्तर सञ्चालन हुनेछ।

निर्वाचन आचारसंहिताको अनुगमन र कार्यान्वयनलाई निरन्तरता दिइएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिसहितका संयन्त्रहरू सक्रिय रुपमा परिचालित छन्।

यता, फागुन ४ गतेदेखि राजनीतिक दलहरूले मुख्य चुनावी प्रचारप्रसार सुरु गरिसकेका छन्। आयोगले सबै दल र उम्मेदवारलाई प्रचलित कानुन र आचारसंहिताको पालना गर्दै शिष्ट र मर्यादित ढंगले प्रचारप्रसार गर्न निर्देशन दिइसकेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय