फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका ठूलो सङ्ख्याका उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचन आयोग का अनुसार यसपटकको निर्वाचनमा २ हजार ८ सय ९० जना उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेनन्।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे का अनुसार निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा कानुनअनुसार निश्चित धरौटी रकम राख्नुपर्ने व्यवस्था हुन्छ। यदि कुनै उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गरेमा उक्त जमानत जफत हुने कानुनी प्रावधान रहेको छ।
सूचना अधिकारी घिमिरेका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष प्रणालीतर्फ २,८९० जना उम्मेदवारको जमानत जफत भएको हो। तीमध्ये ३५० जना उम्मेदवारले एक मत पनि प्राप्त गर्न सकेनन्। अर्थात् उनीहरूको मत परिणाममा शून्य देखिएको आयोगले जनाएको छ।
निर्वाचनमा प्रतिस्पर्धा गरेका उम्मेदवारमध्ये ५ सय १६ जनाले मात्र आफ्नो जमानत जोगाउन सफल भएका छन्। उनीहरूले आफ्नो निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका कारण धरौटी रकम फिर्ता पाउनेछन्।
निर्वाचन आयोगका अनुसार जमानत जोगाएका उम्मेदवारले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ९० दिनभित्र धरौटी रकम फिर्ताका लागि निवेदन दिनुपर्नेछ। रीतपूर्वक निवेदन दिएपछि कानुनअनुसार सो रकम फिर्ता गरिने व्यवस्था रहेको आयोगले जनाएको छ।
आयोगका अनुसार जमानत जफत भएका उम्मेदवारमध्ये ३५० जनाले एक मत पनि प्राप्त नगर्नुले कतिपय उम्मेदवारले आफ्नै वा परिवारको मतसमेत प्राप्त गर्न नसकेको देखिएको छ।

