पाकिस्तानले अफगानिस्तानभित्र हवाई आक्रमण गरेपछि दुई देशबीच तनाव चर्किएको छ। तालिबानले काबुलस्थित एक अस्पतालमा आक्रमण हुँदा सयौँ सर्वसाधारणको ज्यान गएको दाबी गरेको छ जुन पुष्टि अझै बाकि छ ।
)
तालिबानका अनुसार पाकिस्तानको काबुलस्थित पुनर्स्थापना अस्पतालमा हवाई आक्रमण, ४०० जनाको मृत्यु
अफगान अधिकारीहरूका अनुसार सोमबार राति पाकिस्तानले काबुलमा रहेको एक ड्रग पुनःस्थापना अस्पताललाई लक्ष्य गरी हवाई आक्रमण गरेको थियो। उक्त आक्रमणबाट अस्पतालको ठूलो भाग ध्वस्त भएको बताइएको छ।
लागुऔषध दुर्व्यसन उपचार गरिने सो अस्पताल कुनै सैन्य संरचना नभएको बताइएपछि आक्रमण विवादास्पद बनेको छ। घटनापछि उद्धार टोली घटनास्थलमा पुगेका थिए भने भवन भत्किँदा धेरै बिरामी भग्नावशेषमा पुरिएका थिए।
प्रारम्भिक विवरणअनुसार उक्त आक्रमणमा ४०० भन्दा बढी मानिसको मृत्यु भएको र २५० भन्दा बढी घाइते भएको अफगान पक्षले जनाएको छ।
तालिबानले उक्त घटनाको कडा निन्दा गर्दै यसलाई अफगानिस्तानको सार्वभौमसत्तामाथिको उल्लंघन र सर्वसाधारणमाथिको आक्रमण भएको बताएको छ।
यता पाकिस्तानले भने नागरिकलाई लक्षित गरी आक्रमण गरेको आरोप अस्वीकार गरेको छ। इस्लामाबादका अधिकारीहरूले आक्रमण सैन्य संरचना र आतङ्कवादी समूहका समर्थन केन्द्रलाई लक्षित गरी गरिएको दाबी गरेका छन्।
पाकिस्तानले लामो समयदेखि अफगानिस्तानले पाकिस्तानी तालिबानलगायतका उग्रवादी समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ। हालैका हप्ताहरूमा सीमापार आक्रमणका घटनाहरू बढेपछि पाकिस्तानले प्रतिकारस्वरूप कारबाही गरेको बताइएको छ।
यसैबीच पछिल्लो घटनाले दुई देशबीचको सैन्य तनाव थप बढाएको छ। तालिबानले पाकिस्तानका आरोपहरू अस्वीकार गर्दै पाकिस्तानको कदम अन्तर्राष्ट्रिय कानुनविपरीत भएको जनाएको छ।
संयुक्त राष्ट्रसंघले पनि फेब्रुअरीको अन्त्यदेखि बढेको हिंसात्मक घटनाका कारण सर्वसाधारणको ठूलो क्षति भइरहेको चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले दुवै देशबीचको तनाव अझ बढे क्षेत्रीय द्वन्द्वमा रुपान्तरण हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।


