नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ का घटनासम्बन्धी छानबिनका लागि आयोगसमक्ष उपस्थित हुनु अपरिहार्य भएको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सामाजिक सञ्जाल बन्द प्रकरण र त्यसपछि भएको घटनाक्रम दुवैको निष्पक्ष छानबिन आवश्यक भएको र त्यसका लागि अध्यक्ष ओलीले बयान दिनु सामान्य प्रक्रिया भएको बताएका हुन्।
पोखरेलले सामाजिक सञ्जाल खुला रूपमा उपयोग गर्न पाउनु नागरिकको अधिकार भएकाले त्यसको पक्षमा आफूहरू पहिल्यैदेखि रहेको स्पष्ट पार्दै अहिले उत्पन्न विवादले दुवै पक्षको छानबिन अनिवार्य बनाएको बताए। “दोषी जो–जसै हुन्, कारबाही हुनुपर्छ,” उनले भने, “अध्यक्षलाई बयान दिन जान्नुपर्छ भनेर सोध्नुभयो भने, म भए पहिले नै गएर प्रक्रिया पूरा गर्थें।”
छानबिन आयोगप्रति केही आरक्षण रहेको स्वीकार गर्दै उनले आयोगका अध्यक्षको निष्पक्षता विषयमा उठेका प्रश्न उचित रूपमा सम्बोधन हुनुपर्ने बताए। “आयोग प्रमुखले विगतमा २३–२४ को घटनाबारे आफ्नो धारणा सार्वजनिक रूपमा राखिसक्नु भएको छ,” पोखरेलले भने, “त्यसैले निष्पक्षतासम्बन्धी प्रश्न उठ्नु स्वाभाविक हो, तर प्रक्रियालाई अवज्ञा गर्नु मिल्दैन।”
पछिल्ला दिनमा अध्यक्ष ओलीले आयोगमा बयान दिन नजाने संकेत दिएका थिए। यसैबीच, आवश्यक परे प्रहरी परिचालन गरेर बयान लिने तयारी आयोगले गरिरहेको खबर सार्वजनिक भइसकेको छ। यिनै परिस्थितिका बीच पोखरेलको वक्तव्यलाई ओली पक्षबाट आएको महत्त्वपूर्ण संदेशका रूपमा हेरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
