
प्रधानमन्त्री केपी शर्मा ओली साङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गर्ने तयारीमा छन्। चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा हुने यो भ्रमणमा प्रधानमन्त्री ओलीले चीन र रुसका राष्ट्रपतिसहित अन्य राष्ट्रप्रमुखहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली नेतृत्वको २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डल यही भदौ १४ देखि १८ गतेसम्म चीनको तियानमिन सहरमा हुने शिखर सम्मेलनमा सहभागी हुनेछ। भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सांसदहरू, सल्लाहकार तथा उच्च सरकारी अधिकारीसमेत रहनेछन्।
प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भदौ १४ गते नै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै, उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेटवार्ता गर्नेछन्। साथै भियतनाम, माल्दिभ्स, लाओस, क्याम्बोडियासहितका अन्य सहभागी मुलुकका राष्ट्रप्रमुखहरूसँग पनि बैठक तय भएको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भदौ १६ गते शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन्। त्यसअघि र पछि विभिन्न राष्ट्रप्रमुखहरूसँग भेटवार्ता गरी नेपालका प्राथमिकता, विशेष गरी व्यापार, ऊर्जा, पारवहन, क्षेत्रीय सुरक्षा र बहुपक्षीय सहकार्यबारे धारणा प्रस्तुत गर्ने तयारी गरिएको छ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा तियानमिन र बेइजिङमा हुने विशेष कार्यक्रमहरूमा समेत सहभागिता जनाउनेछन्। भदौ १८ मा बेइजिङमा आयोजना हुने जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासिवादविरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा समेत उहाँको सहभागिता रहनेछ। सोही दिन उहाँ स्वदेश फर्कने कार्यक्रम छ।
नेपाल सन् २०१६ देखि एससिओको संवाद साझेदार मुलुकको हैसियतमा रहेको छ। नेपालले हालसम्म शिखर सम्मेलनमा भूपरिवेष्ठित मुलुकका चुनौती, जलवायु परिवर्तन र ऊर्जा पहुँचमा सहकार्यका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको छ। यस पटकको उच्चस्तरीय सहभागिता नेपाललाई एससिओभित्र अझ सक्रिय भूमिका खेल्न सक्ने अवसरका रूपमा हेरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।