२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले जेनजी आन्दोलनलाई भावनात्मक होइन, वैज्ञानिक दृष्टिकोणबाट बुझ्नुपर्ने बताएका छन्। शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको शुभ दीपावली तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले अहिलेको आन्दोलनले देशकै सोच र स्वरूप परिवर्तन गरेको बताए।

पुनका अनुसार, जेनजी आन्दोलन केवल युवाको उत्साह होइन, सामाजिक चेतनाको परिणाम हो। उनले भने, “देशमा एउटा नयाँ चेतना जगिएको छ। मानिसको सोच, दृष्टिकोण र व्यवहार बदलिएको छ। यो आन्दोलनले नेपाल मात्र होइन, विश्वकै ध्यान खिचेको छ। क्रान्तिकारीहरूले यसलाई वर्गीय संघर्ष र श्रमिकको आकांक्षासँग जोडेर बुझ्नुपर्छ।”

उनले चेतावनीका स्वरमा भने, “केही शक्तिहरू अहिलेको परिवर्तनलाई उल्ट्याउन खोजिरहेका छन्। केही अलमलमा छन्, कतिपय अड्किएका छन्। तर हामीले यो आन्दोलनलाई बस्तुवादी र वैज्ञानिक दृष्टिले विश्लेषण गर्नुपर्छ, नत्र दिशाहीन बन्ने जोखिम छ।”

नेता पुनले आफू र आफ्ना सहकर्मीहरूलाई राजनीतिक रूपमा हेपिएको महसुस भएको पनि बताए। तर उनले स्पष्ट गरे, “हामी परीक्षित छौं, फेरि पनि परीक्षाका लागि तयार छौं। तर कसैले हेला गर्न खोज्यो भने सहनेवाला छैनौं। सरकारलाई पनि भनिसकेका छौं, हामी आजको एजेण्डा अनुसार आफूलाई तयार गरिरहेका छौं।”

उनले सत्तामा रहेका नेताहरूको अनुभव र परीक्षालाई स्मरण गर्दै भने, “प्रधानमन्त्रीदेखि अर्थमन्त्री, उर्जामन्त्री र अन्य सबै साथीहरूले इतिहासमा आफ्ना भूमिका निर्वाह गरिसक्नुभएको छ। हामी सबै परिक्षित हौं। अब हामीलाई कम आँक्नेहरूले पनि बुझ्नुपर्छ—यो पुस्ता अब मौन बस्दैन।”

पुनले अन्त्यमा क्रान्तिकारीहरूलाई एकताबद्ध भएर नयाँ पुस्ताको आन्दोलनलाई सकारात्मक र रचनात्मक दिशातर्फ लैजान आह्वान गरे। “यो आन्दोलनको जरो युवाको मनमा छ,” उनले भने, “हामीले त्यसलाई सशक्त बनाउनुपर्छ, बिगार्न होइन।”

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय