आजदेखि नेपाल सम्वत् ११४६ सुरु भएको छ । देशभर नेवार समुदायले यस सम्वत्लाई नयाँ वर्षका रूपमा उल्लासपूर्वक मनाइरहेका छन् । काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेलदेखि दोलखा भीमेश्वरसम्म नेवार समुदायले आज विभिन्न सांस्कृतिक कार्यक्रम, शोभायात्रा र बही खाताको नयाँ सुरुवात गर्दै उत्सव मनािरहेका छन् ।
नेपाल सम्वत्को सुरुवात राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरेर गरेका थिए । यही कार्यले उहाँलाई समाजसेवी र राष्ट्रिय नायकको रूपमा स्थापित गरायो । नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को रूपमा प्रयोगमा थियो ।
इतिहासविद्हरूका अनुसार लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको यो सम्वत्, पृथ्वीनारायण शाहपछि विस्तारै विसं प्रचलनमा गए पनि यसको मौलिकता र ऐतिहासिक महत्व अझै जीवित छ । डा. त्रिरत्न मानन्धरका अनुसार नेपाल देशको नाममा आधारित यो सम्वत् नेपालको सांस्कृतिक पहिचानको प्रतीक हो ।
विसं २००७ पछि प्रजातन्त्र स्थापना भएपछि नेपाल सम्वत्लाई पुनः राष्ट्रिय मान्यता दिलाउन अभियान सुरु गरिएको थियो । विसं २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साःख्वालाई राष्ट्रिय विभूति घोषणा गरे भने विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्को राष्ट्रिय मान्यता दिने घोषणा गरे ।
काठमाडौँका व्यापारीहरू आजको दिन पुराना बही खाता बन्द गरी नयाँ बही खाताको सुरुवात गर्छन् । सांस्कृतिक परम्परा, ऐतिहासिक गौरव र सामुदायिक एकताको प्रतीकका रूपमा नेपाल सम्वत् आज पनि नयाँ पुस्ताका बीच गर्वका साथ मनाइँदैछ ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
