
विरल वर्षासँगै पहिरो, लेदो र नदी कटानका कारण देशका विभिन्न स्थानमा प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।
प्रहरी प्रधान कार्यालयले सोमबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध भएको जनाएको छ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली, नार्केस्थित बीपी राजमार्गमा बिहान ४ बजे वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी, खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन हुने व्यवस्था गरिएको छ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको हो।
इलाम नगरपालिका–९ राजदुवालीमा सडकमा हिलो जमेकाले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले यात्रु तथा चालकलाई उक्त क्षेत्रमा वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिका–२ कोदारीको इकु क्षेत्रमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ।
सोही गाउँपालिका–२ लिपिङमा सडक भासिएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ। चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा बिहान ५ बजे पहिरो खसेपछि अरनिको राजमार्गको अर्को खण्ड पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी कच्ची सडक कटान गरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलानजिक भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ।
लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोकमार्गमा गएराति पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। प्रहरीले उक्त क्षेत्रमा यात्रा गर्ने यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार अवरुद्ध सडक खुलाउने र यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। वर्षाका कारण थप पहिरो तथा बाढी आउन सक्ने जोखिम रहेकाले सडकमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
