नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा मंगलबारको दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित हात पारेको छ। बलियो ब्याटिङ प्रदर्शनसहित विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै दुई अंक सुरक्षित गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ६ विकेटको क्षतिमा २२० रन जोड्दै एनपीएल इतिहासकै उच्च स्कोर बनायो। लोकेश बमको ७२ रन र मार्टिन गुप्टिलको ६१ रनले विराटनगरको पारीलाई बलियो बनायो। उनीहरूले दोस्रो विकेटका लागि १३२ रनको विशाल साझेदारी बनाए। शुभम रञ्जनेले १६ बलमा ३८ रन थपे भने बसिर अहमदले २३ रनको योगदान दिए।
२२१ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको पोखरा एभेन्जर्स १८ ओभर ५ बलमै १६७ रनमा अलआउट भयो। कप्तान कुशल भुर्तेलले ५९ रन बनाउँदै संघर्ष गरे। एडम रोस्सिंटनले ३९ र ड्यान डाउवेर्थले २९ रन जोडे तर बाकी ब्याटरले जम्न सकेनन्।
विराटनगरका बलरले पोखरालाई तहसनहस बनाए। प्रतिश जिसी, शुभम रञ्जने, मार्चन्ट डि लिङ्गे र कप्तान सन्दीप लामिछानेले २–२ विकेट लिए भने बसिर अहमद र सूर्य तामाङले एक–एक विकेट हात पारे।
उत्कृष्ट ब्याटिङ र प्रभावशाली बलिङ प्रदर्शनले विराटनगर किङ्सलाई यस सिजनको पहिलो जित मात्र होइन, आफ्नो पुरानै उच्च स्कोरको रेकर्ड तोड्ने मौका पनि दियो।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
