
बजारमा एलपी ग्यासको हाहाकार भइरहेका बेला जुनसुकै कम्पनीको सिलिन्डर साट्न पाउने सरकारको निर्देशनप्रति व्यवसायीले असहमति जनाएका छन्।
एलपी ग्यासका उपभोक्ताले एक कम्पनीको सिलिन्डर दिएर अर्को कम्पनीको सिलिन्डर साट्न पाउने उद्योगमन्त्री गौरी यादवको घोषणालाई व्यवसायीले अस्वीकार गरेका हुन्।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले एक कम्पनीको सिलिन्डर दिएर अर्को कम्पनीको सिलिन्डर साट्न नसकिने स्पष्ट पारे।
नेपाल आयल निगममा भएको छलफलमा समेत आफूहरूले एक ब्रान्डको सिलिन्डर अर्को ब्रान्डसँग साट्न नसकिने अडान राखेको चन्दले बताए। उनका अनुसार ग्यास उद्योगीसँग छलफल नगरी उद्योगमन्त्रीले एकतर्फी रूपमा जुनसुकै ब्रान्डको सिलिन्डर साट्न दिने निर्देशन दिएका हुन्।
उद्योग मन्त्रालय र नेपाल आयल निगमका प्रतिनिधिसँग भएको छलफलमा आफूले व्यवसायीको धारणा स्पष्ट रूपमा राखिसकेको चन्दले जानकारी दिए।
‘जुनसुकै ग्यासको सिलिन्डर साट्न सकिने कुरा व्यावहारिक रूपमा कठिन हुन्छ । उद्योगीहरूले यसमा असमर्थता जनाएका छन्,’ उनले भने।
नेपाल आयल निगमका प्रतिनिधि, मन्त्रालयका अधिकारी तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थितिमा भएको छलफलमा उद्योगीहरूले जुनसुकै ब्रान्डको सिलिन्डर साट्दा आउन सक्ने सम्भावित जोखिम र जटिलताबारे आफ्नो धारणा राखेका थिए।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
