
नेकपा एमालेले गत वर्षको जेनजी प्रदर्शनका क्रममा भएको हिंसा र त्यसपछिको विध्वंस योजनाबद्ध षड्यन्त्रको परिणाम भएको दाबी गरेको छ।
जेनजी प्रदर्शनको एक वर्ष पूरा भएको अवसरमा बुधबार एमाले केन्द्रीय कार्यालयले जारी गरेको प्रेस वक्तव्यमा अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण प्रदर्शनभित्र आपराधिक समूहले घुसपैठ गरेर त्यसलाई हिंसात्मक बनाएको आरोप लगाएका हुन्।
एमालेले प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाहरू तथा कर्तव्य पालनाका क्रममा मारिएका प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
एमालेका अनुसार नवयुवाका केही समूहले सामाजिक सञ्जालको निर्वाध सञ्चालन र सुशासनलगायत विषयमा प्रशासनसँग शान्तिपूर्ण प्रदर्शनको अनुमति मागेका थिए। आयोजकहरूले प्रदर्शन शान्तिपूर्ण र कानुनको दायरामा हुने प्रतिबद्धता जनाएपछि प्रशासनले अनुमति दिएको एमालेको दाबी छ।
तर माइतीघरबाट सुरु भएको प्रदर्शनमा विभिन्न आपराधिक समूहले घुसपैठ गरेर त्यसलाई अनियन्त्रित, अराजक र हिंसात्मक बनाएको एमालेको आरोप छ।
एमालेका अनुसार आयोजकहरूले प्रदर्शन स्थगित भएको घोषणा गरेपछि पनि ‘घुसपैठ गरेका षड्यन्त्रकारी समूह’ले युवाहरूलाई मानव ढाल बनाएर संसद् भवनमा आक्रमण गर्न उक्साएका थिए। त्यस क्रममा प्रहरीको बल प्रयोगबाट १९ युवाको मृत्यु भएको एमालेको वक्तव्यमा उल्लेख छ।
एमालेले भदौ २४ मा राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडलाई नेपालको इतिहासकै ‘कालो अध्याय’ भनेको छ।
प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि पनि विध्वंस जारी रहेकाले अघिल्लो दिनको घटनाबाट उत्पन्न आवेग मात्र त्यसको कारण हुन नसक्ने एमालेको निष्कर्ष छ। एमालेले उक्त घटनालाई ‘राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील कोर्स उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वमा होम्ने घातक योजनाको मूर्त रूप’ भएको दाबी गरेको छ।
एमालेले प्रदर्शन हिंसात्मक बन्नुको कारण र त्यसमा संलग्न व्यक्तिहरूबारे गहिरो छानबिन गर्न माग गरेको छ। तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई घटनामा दोषी ठहर गर्दै गिरफ्तार र मुद्दा चलाउने प्रयास भएको भन्दै एमालेले त्यसलाई ‘दुराग्रह र प्रतिशोधपूर्ण’ भनेको छ।
त्यस्तै, सुरक्षा निकायको भूमिकासम्बन्धी प्रतिवेदन सार्वजनिक नगरिएको र भदौ २४ को विध्वंसमा संलग्न आरोपीविरुद्धको अनुसन्धान तथा अभियोजन प्रक्रिया रोकिएको पनि एमालेको आरोप छ।
‘राज्यका मुख्य धरोहर र लोकतन्त्रमाथि आक्रमण हुँदा राज्यका सुरक्षा निकायले त्यसलाई किन रोक्न सकेनन् भन्ने प्रश्न आज पनि अनुत्तरित छ,’ एमालेको वक्तव्यमा भनिएको छ।
एमालेले हिंसा र अराजकतालाई लोकतान्त्रिक आन्दोलनका नाममा वैधता दिन नहुने बताएको छ। राजनीतिको अपराधीकरण रोक्नुपर्ने, दण्डहीनता अन्त्य गर्नुपर्ने र राज्य दहनका दोषीलाई कारबाही गर्नुपर्ने उसको माग छ।
सरकार परिवर्तनका लागि संविधानले निर्दिष्ट गरेको बाटोबाहेक अन्य विकल्प स्वीकार्य नहुने पनि एमालेले जनाएको छ।
एमालेले जेनजी युवाहरूको सरोकार, अपेक्षा र मनसाय सकारात्मक रहेको दाबी गर्दै गत वर्षको हिंसा र विध्वंसमा उनीहरूको संलग्नता नरहेको जिकिर गरेको छ। बरु ‘अरू नै तत्त्वहरूले त्यसको लाभ लिएको’ एमालेको आरोप छ।
वक्तव्यमा लोकतन्त्र, संविधान, राष्ट्रिय हित, स्वाभिमान र शान्तिको रक्षाका लागि देशभक्त, लोकतान्त्रिक, प्रगतिशील तथा वामपन्थी शक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्न अपिल गरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
