प्रधानमन्त्री सुशीला कार्कीलाई मागपत्र बुझाउन आएका जेन–जीलाई प्रहरीले फेरि पनि सिंहदरबार प्रवेशमा रोकिदिएको छ। मिराज ढुंगाना नेतृत्वको टोली बिहानै गेटमा पुगेको थियो तर प्रहरी बलले उनीहरूलाई अनामनगरतिर धकेलेर हटाएको सहभागीहरूले बताएका छन्।
हिजो पनि २१ जनाको समूह सिंहदरबार पुगेको थियो तर भित्र छिरण्य अनुमति नदिँदै प्रहरीले फर्काएका कारण उनीहरूले दक्षिण गेटमै मागपत्र टाँसेर विरोध जनाएका थिए।
आजको प्रदर्शनमा प्रहरीले रोकेपछि केही समय कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल समेत भयो। सरकारले युवाको आवाज दमन गरेको आरोप लगाउँदै समूहले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्यो। कालोपट्टी बाँधेर विरोधमा उत्रिएका मिराज समूहले आफूहरूको आन्दोलन ०८४ सालको चुनाव मात्रै लक्षित नभई सरकारका असंवैधानिक गतिविधिहरूविरुद्ध भएको बताए।
उनका अनुसार कार्की सरकारले शहीद तथा घाइतेहरूको सपना साकार गर्ने क्षमता देखाउन नसकेको र युवाको विद्रोहलाई कमजोर पार्ने प्रयास भइरहेको छ।
मंगलबारको प्रदर्शन गिरफ्तारी दिनेको पूर्वयोजनाअनुसार गरिएको बताइन्छ। सोमबार पनि उनीहरूले सिंहदरबार गेटमै प्रधानमन्त्री भेट्न नपाएपछि नाराबाजी गरेका थिए।
सोमबार जेन–जी अगुवाहरूले ८ बुँदे मागपत्र टाँसेका थिए। त्यसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित भदौ २३–२४ का घटनामा संलग्न सबैलाई पक्राउ गर्न, सर्वपक्षीय सरकार बनाएर संविधान संशोधन अघि बढाउन र घोषित निर्वाचन रोक्न माग गरिएका छन्।
यसबाहेक, राजनीतिक दलका पूर्व–मन्त्री तथा सांसदहरूको सम्पत्ति रोक्का गर्ने, भ्रष्टाचार निर्मूल आयोग गठन गर्ने, सरकारी सेवामा दलीय कर्मचारी संगठनलाई स्थायी रूपमा प्रतिबन्ध गर्ने, जेन–जी निगरानी आयोग गठन गर्ने र शहीद–घाइते परिवारलाई तत्काल रोजगारी दिने माग पनि समेटिएको छ।
प्रहरीले अनामनगरसम्म धकेले पनि प्रदर्शनकारीहरू पुनः सिंहदरबार फर्कने प्रयास गरिरहेकाले क्षेत्रमा तनाब बढेको छ। मिराज समूहले माग पूरा नभएसम्म आन्दोलन निरन्तर रहने चेतावनी दिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
