प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन अब ७३ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची पेस गर्ने विषयमा दलहरूलाई स्पष्ट निर्देशन दिएको छ। आयोगका अनुसार राजनीतिक दलले समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची पेस गर्दा समावेशी समूहको तोकिएको प्रतिशत अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।
आगामी २१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै छ। प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ अनुसार दलहरूले बन्द सूची तयार गर्दा नयाँ कानुनी व्यवस्थालाई आधार मान्नुपर्ने आयोगले जनाएको हो। निर्देशिकाअनुसार दलले बढीमा ११० र कम्तीमा ११ जनाको नाम बन्द सूचीमा समावेश गर्न सक्नेछन्।
उम्मेदवारको बन्द सूची राष्ट्रिय जनगणना २०७८ को तथ्यांकका आधारमा तयार गर्नुपर्नेछ। सोही आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची १ मा आवश्यक संशोधन गरिएको आयोगले स्पष्ट पारेको छ। नयाँ व्यवस्थाअनुसार दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु र मुस्लिम समुदायको जनसंख्या अनुपातअनुसार उम्मेदवार समावेश गर्नुपर्नेछ।
निर्धारित प्रतिशतअनुसार दलित १३.४४ प्रतिशत, आदिवासी जनजाति २८.७२ प्रतिशत, खस आर्य ३०.२८ प्रतिशत, मधेशी १६.१५ प्रतिशत, थारु ६.५२ प्रतिशत र मुस्लिम ४.८९ प्रतिशत हुने गरी उम्मेदवारको नाम सूचीमा राख्नुपर्ने व्यवस्था छ। आयोगले यसलाई अनिवार्य मापदण्डका रूपमा लागू गरेको छ।
यसैगरी बन्द सूचीमा प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिला उम्मेदवार समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ। कुल ५० प्रतिशत सिट निर्धारण गर्दा महिलाको संख्या दशमलवमा आएमा सोभन्दा माथिको पूर्ण संख्या कायम गर्नुपर्ने आयोगले जनाएको छ।
उम्मेदवार सूचीकृत गर्दा कम्तीमा ४.३ प्रतिशत पिछडिएका क्षेत्रका उम्मेदवारलाई समावेश गर्नुपर्नेछ। साथै अपाङ्गता भएका व्यक्तिको नाम सूचीमा उल्लेख गरिएको हुनुपर्ने प्रावधान पनि राखिएको छ। बन्द सूची आयोगमा पेस गर्दा सम्बन्धित दलको केन्द्रीय समितिबाट स्वीकृत निर्णयको प्रमाणित प्रतिलिपि अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
सूचीमा समावेश प्रत्येक उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि र मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार बन्नका लागि केही आधारभूत योग्यता तोकिएको छ। उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, २५ वर्ष उमेर पूरा भएको, कुनै संघीय कानुनले अयोग्य नठहरिएको तथा कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने व्यवस्था छ।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिएका राजनीतिक दलहरूले यही पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्द सूची पेस गर्नुपर्ने समयसीमा तोकिएको छ। आयोगले तोकिएको समय र मापदण्डअनुसार सूची नपेस भएमा कानुनअनुसार कारबाही हुन सक्ने चेतावनीसमेत दिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
