
निर्वाचन आयोगले २० फागुन राति १२ बजेदेखि मतदान प्रक्रिया सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने निर्णय गरेको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ अनुसार गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदानको दिन एम्बुलेन्स, दमकल, शवबाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतमा प्रयोग हुने सवारी, कूटनीतिक नियोगका सवारी र निर्वाचन पास प्राप्त सवारीबाहेक अन्य सबै सवारी २० फागुन राति १२ बजेदेखि २१ फागुन साँझ मतदान सम्पन्न नभएसम्म सञ्चालन गर्न पाइने छैन ।
यसैगरी, मतदानको मितिभन्दा सात दिनअघि देखि अन्तिम परिणाम घोषणा नभएसम्म मुलुकभर मादकपदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउन गृहमन्त्रालय लाई पत्र पठाउने निर्णय पनि गरिएको छ । ७७ वटै जिल्लामा मादकपदार्थ बिक्रीवितरण तथा सेवन रोक्न निर्देशन दिइने जनाइएको छ ।
जिल्ला आचारसंहिता अनुगमन समितिलाई तोकिएका संयन्त्र परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ अनुसार निषेध गरिएका गतिविधि हुन नदिन र भएमा कानुनबमोजिम कारबाही गर्न निर्देशन दिइएको छ ।
बैठकले निर्वाचनलाई स्वच्छ, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा अवस्थाको समीक्षा गर्दै आवश्यक मार्गदर्शन र सिफारिस मन्त्रालयमा पठाउने निर्णय गरेको जनाएको छ । १८ फागुन राति १२ बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा आचारसंहिता पूर्णरूपमा पालना गराउन पनि सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।
मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने नियमित सञ्चालन हुनेछन् । टिकट भएका यात्रुले विमानस्थल आवतजावत गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ ।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ को दफा ६ अनुसार निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्न पनि गृहमार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ अनुसार मतदाताले मतदान गर्न जाँदा मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारीचालक अनुमतिपत्रमध्ये कुनै एक कागजात साथमा लिएर जानुपर्ने व्यवस्था छ । मतदाता नामावलीमा नाम भएका मतदाताले सो कागजातका आधारमा मतदान गर्न पाउनेबारे सुरक्षाकर्मी र कर्मचारीलाई जानकारी गराइएको छ ।
सवारी पास वितरणका लागि आयोगको सचिवालय परिसरमा पास वितरण इकाई स्थापना गरिनेछ । आयोग र जिल्ला प्रशासन कार्यालय, काठमाडौंका दुई–दुई जना कर्मचारी उक्त इकाईमा खटाइने जनाइएको छ । आवश्यक समन्वय र सहजीकरणका लागि सरोकारवाला सबै पक्षलाई आयोगले आग्रह गरेको छ ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
