
नयाँ सरकार गठनसँगै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाई कार्य तीव्र रूपमा अघि बढेको छ। सुरक्षण मुद्रण केन्द्रले अत्यावश्यक बाहेकका लाइसेन्ससमेत ठूलो संख्यामा छाप्न सुरु गरेको जनाएको छ।
बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएपछि केन्द्रले एकमुस्ट रूपमा लाइसेन्स छपाई थालेको हो। यातायात व्यवस्था विभागबाट प्राप्त डेटा अनुसार छपाई कार्य भइरहेको केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले जानकारी दिएका छन्।
उनका अनुसार हालसम्म विभागबाट करिब तीन लाख लाइसेन्सको डेटा प्राप्त भइसकेको छ। सोही आधारमा केही दिनअघि ९४ हजार लाइसेन्स छापेर पठाइएको र मंगलबार थप ६८ हजार लाइसेन्स पठाउने तयारी रहेको उनले बताए। यसरी १० दिनको अवधिमा कुल १ लाख ६२ हजार लाइसेन्स छापिएको छ।
गत १२ कात्तिकमा सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच ६ महिनाभित्र १२ लाख लाइसेन्स छाप्ने सम्झौता भएको थियो। तर, करिब पाँच महिनासम्म अत्यावश्यक बाहेकका लाइसेन्स छपाई अघि बढ्न सकेको थिएन।
विभागबाट पुराना लाइसेन्सको डेटा उपलब्ध गराउने प्रणाली तयार नभएको कारण ढिलाइ भएको जनाइएको छ। अहिले भने डेटा आउन थालेपछि छपाई कार्य तीव्र बनाइएको हो।
ढुङ्गानाका अनुसार यसअघि आवश्यक कच्चा पदार्थको अभावका कारण दैनिक करिब ५०० लाइसेन्स मात्र छापिँदै आएको थियो। अहिले भने १२ लाख लाइसेन्स छाप्ने सम्पूर्ण तयारी पूरा भइसकेको र तोकिएको समयभित्र लक्ष्य हासिल गर्नेगरी काम भइरहेको छ।
सम्झौताअनुसार १२ लाख लाइसेन्सबाहेक अझै करिब १७ लाख लाइसेन्स छपाई हुन बाँकी रहेको छ। ती लाइसेन्स छाप्नका लागि पनि थप सम्झौताको तयारी भइरहेको केन्द्रले जनाएको छ।
ढुङ्गानाले बाँकी लाइसेन्स पनि असार मसान्तसम्म छाप्ने लक्ष्य राखिएको बताए। आवश्यक सम्झौता भएमा सबै लाइसेन्स समयमै छाप्न सकिने उनको भनाइ छ।
यातायात व्यवस्था विभागका अनुसार विभिन्न यातायात कार्यालयबाट डेटा संकलन गरी चरणबद्ध रूपमा केन्द्रलाई पठाइँदै छ। विभागका निर्देशक केशवराज खतिवडाले एकै पटक सबै डेटा पठाउन सम्भव नभएकाले चरणबद्ध रूपमा डेटा उपलब्ध गराइरहेको जानकारी दिए।
छापिएका लाइसेन्स सम्बन्धित कार्यालयमार्फत वितरण गरिनुका साथै केही जिल्लामा हुलाकमार्फत पठाउने काम पनि सुरु भइसकेको छ। काभ्रे पूर्वका केही जिल्लामा हुलाकमार्फत लाइसेन्स पठाइसकिएको विभागले जनाएको छ।
बाँकी लाइसेन्स छपाईका लागि बजेट व्यवस्थापन प्रक्रिया पनि अघि बढाइएको छ। विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यससम्बन्धी पत्र पठाइसकेको छ भने छिट्टै थप सम्झौता गर्ने तयारी भइरहेको जनाएको छ।
यसैबीच, सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले विभागबाट डेटा प्राप्त भएपछि २४ घण्टाभित्र लाइसेन्स छाप्ने व्यवस्था मिलाउने तयारी भइरहेको बताएका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
