
काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसइई) को कापी जाँच सम्पन्न गरी नतिजा र उत्तरपुस्तिका राष्ट्रिय परीक्षा बोर्डमा बुझाइसकेका छन्।
यस वर्ष परीक्षा सकिएको तीन दिनभित्र कापी जाँच सम्पन्न गर्ने लक्ष्यअनुसार उपत्यकाका जिल्ला शिक्षा विकास तथा समन्वय इकाईहरूले समयमै काम टुंग्याएका हुन्।
सबैभन्दा पछिल्लो रूपमा काठमाडौं जिल्लाले शुक्रबार दिउँसो सम्पूर्ण नतिजा र उत्तरपुस्तिका बोर्डमा बुझाएको जानकारी दिइएको छ। ललितपुर र भक्तपुरले भने यसअघि नै आफ्नो जिम्मेवारी पूरा गरिसकेका थिए।
काठमाडौं जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख समन्तमणि आचार्यका अनुसार धेरै परीक्षा केन्द्र भएका कारण संकलन र व्यवस्थापनमा केही समय लागेको हो। उनका अनुसार शुक्रबार अन्तिम दुई विद्यालयको उत्तरपुस्तिका पठाइएसँगै जिल्लाको काम सम्पन्न भएको छ। काठमाडौंमा १३४ परीक्षा केन्द्रबाट करिब ४० हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए।
भक्तपुरले चैत ३० गते नै सबै विषयको नतिजा र उत्तरपुस्तिका बोर्डमा बुझाइसकेको जनाएको छ। जिल्ला शिक्षा विकास तथा समन्वय इकाई भक्तपुर प्रमुख कमला ज्ञवालीका अनुसार चैत २७ गतेमै परीक्षा केन्द्रहरूबाट सामग्री संकलन भइसकेको थियो। भक्तपुरमा २४ परीक्षा केन्द्रमध्ये २३ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो, जहाँ ६ हजार ६७ विद्यार्थी सहभागी भएका थिए।
ललितपुरले पनि वैशाख २ गतेसम्म सबै नतिजा र उत्तरपुस्तिका बोर्डमा बुझाइसकेको छ। जिल्ला शिक्षा विकास तथा समन्वय इकाई ललितपुर प्रमुख प्रकाश सापकोटाका अनुसार ४० परीक्षा केन्द्रबाट करिब १० हजार ५ सय विद्यार्थीले परीक्षा दिएका थिए। केही ढिलाइका कारण वैशाख २ गते बोर्डमा बुझाइएको उनले बताए।
चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षाको नतिजा र उत्तरपुस्तिका वैशाख ५ गतेभित्र बुझाउन बोर्डले निर्देशन दिएको थियो।
उपत्यकामा काम सकिए पनि देशभरका सबै जिल्लाबाट विवरण भने अझै आइसकेको छैन। राष्ट्रिय परीक्षा बोर्डका सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार विभिन्न जिल्लाबाट क्रमशः नतिजा र उत्तरपुस्तिका पठाउने काम भइरहेको छ।
उनका अनुसार कतिपय जिल्लाले आंशिक रूपमा विषयगत नतिजा पठाइरहेका छन् भने सबै विवरण एकैपटक नआएकाले पूर्ण अवस्था बुझ्न समय लागेको छ। तोकिएको समयसीमाअनुसार भोलिसम्म सबै जिल्लाबाट विवरण प्राप्त हुने अपेक्षा गरिएको छ।
परीक्षा बोर्डले वैशाखको अन्तिम साता एसइईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। सोही लक्ष्यअनुसार आवश्यक काम तीव्र गतिमा भइरहेको बोर्डले जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
