
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने विशेष दूत सर्जियो गोर आज साँझ काठमाडौं आइपुग्ने भएका छन्।
नेपाल भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
यद्यपि प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट हुने वा नहुने विषय भने बिहीबार बिहानसम्म स्पष्ट भइसकेको छैन। यसअघि अप्रिल २० मा नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुरको टोलीसँग पनि प्रधानमन्त्री शाहले भेट नगरेको उल्लेख गरिएको छ।
गोरले नेपाल बसाइका क्रममा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।
हाल भारतका लागि अमेरिकी राजदूतको जिम्मेवारीसमेत सम्हालिरहेका गोर राष्ट्रपति ट्रम्पका विश्वासिला कूटनीतिज्ञ मानिन्छन्। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार उच्चस्तरीय भ्रमणका भेटवार्ताको तालिका सामान्यतया पहिल्यै तय हुने भए पनि प्रधानमन्त्रीसँगको भेटबारे भने अझै निर्णय भइसकेको छैन।
परराष्ट्र स्रोतका अनुसार गोरले प्रधानमन्त्रीसँग भेटका लागि शुक्रबार वा शनिबार समय मागेका छन्। तर, प्रधानमन्त्री कार्यालयबाट त्यसबारे कुनै ठोस निर्णय सार्वजनिक भएको छैन।
बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि नेपाल आउन लागेका गोर सबैभन्दा उच्च तहका अमेरिकी कूटनीतिज्ञ मानिएका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
