२०८३ जेष्ठ २७ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’सँग सम्बन्धित हो : परराष्ट्रमन्त्री खनाल | सम्पत्ति विवरण बुझाउने समय एक महिना थप | प्रधानमन्त्रीको अभिव्यक्तिको पैरवी सेनाले पनि गरिरहेको बादलको आरोप | संसदमा खुस्बु ओलीको गुनासो- ज्यान मार्नेदेखि बलात्कारसम्मको धम्की आयो | संसद्मा श्रम संस्कृति पार्टीको विरोध जारी, परराष्ट्रमन्त्री बोल्दा पनि अवरोध | मन्त्री बनेपछि सिंहदरबारमै डेरा सरे महावीर पुन, मन्त्रालयमै बस्ने तयारी | मन्त्रिपरिषद बैठकमा ‘स्थानीय उत्पादन’ अभियान, डीडीसीलाई विशेष प्राथमिकता | सम्झौता मिति सकिन लाग्दा पनि जुम्लाको न्याउरीगाड पुल अधुरै | सेयर बजारमा गिरावटको क्रम जारी | सुधनको छानबिनप्रति कांग्रेस सभापति गगन थापाको कटाक्ष: “झन्झट किन गरेको? पहिल्यै होइन भने भइहाल्थ्यो” |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ। पार्टी स्थापना भएको चार वर्ष पूरा भएकै अवसरमा हुन लागेको यो महाधिवेशनलाई रास्वपाको भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बुधबार वनस्थलीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान टुंगो लगाएको हो। बैठकले अब पार्टीको मुख्य ध्यान संगठन विस्तार, आन्तरिक संरचना बलियो बनाउने र नेतृत्व प्रणालीलाई व्यवस्थित गर्ने दिशामा केन्द्रित गर्ने निर्णयसमेत गरेको छ।

रास्वपाका प्रवक्ता मनिष झाले महाधिवेशनलाई केवल नेतृत्व चयनको कार्यक्रम मात्र नभई आगामी राष्ट्रिय राजनीतिमा पार्टीको दीर्घकालीन रणनीति तय गर्ने अवसरका रूपमा लिइएको बताए।

बैठकले सभापति रवि लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ। यस्तै, सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा विधान संशोधन समिति पनि बनाइएको छ। यसले रास्वपाले पार्टीको संरचना, कार्यविधि र नेतृत्व प्रणालीमा समेत व्यापक पुनर्संरचना गर्न खोजिरहेको संकेत दिएको छ।

पार्टीले वडा तहदेखि पालिका तहसम्म अधिवेशनको कार्यतालिका सार्वजनिक गरेर संगठनलाई देशव्यापी रूपमा संस्थागत गर्ने तयारी गरेको जनाएको छ। हालसम्म समिति गठन नभएका क्षेत्रमा जेठ महिनाभर संगठन निर्माण अभियान सञ्चालन गरिने बताइएको छ।

गत चैत २१ गते सम्पन्न आमनिर्वाचनपछि केन्द्रमा बलियो राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाको पहिलो महाधिवेशनलाई राजनीतिक वृत्तमा निकै महत्वका साथ हेरिएको छ। पार्टीले केही साताभित्र वडा, पालिका र स्थानीय संरचनालाई पूर्णता दिने लक्ष्य लिएको छ।

झण्डै ३ हजार प्रतिनिधि सहभागी हुने

रास्वपाको पहिलो महाधिवेशनमा झण्डै ३ हजार प्रतिनिधि सहभागी हुने भएका छन्। पार्टीले केन्द्रदेखि वडा तहसम्म बनेका संगठनमार्फत प्रतिनिधि चयन गरेर महाधिवेशनमा सहभागी गराउने तयारी गरेको छ।

हाल रास्वपाले सातै प्रदेश, ७७ जिल्ला र ५ सयभन्दा बढी पालिकामा संगठन विस्तार गरिसकेको जनाएको छ।

महाधिवेशन प्रतिनिधिमा केन्द्रीय समिति, केन्द्रीय विभाग, सल्लाहकार परिषद्, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोगका पदाधिकारी, प्रतिनिधिसभाका सांसद, प्रदेश समिति पदाधिकारी तथा विभिन्न जिल्ला र निर्वाचन क्षेत्रबाट चयन भएका प्रतिनिधि सहभागी हुनेछन्।

यस्तै, प्रवास नेपाली सम्पर्क विभागमार्फत विदेशबाट पनि प्रतिनिधि आउने बताइएको छ। रास्वपाको कम्तीमा २५ देशमा सम्पर्क समिति रहेको जनाइएको छ।

पालिका अधिवेशनबाट गाउँपालिकाले १, नगरपालिकाले २, उपमहानगरपालिकाले ३ र महानगरपालिकाले ४ जनासम्म प्रतिनिधि पठाउन पाउने व्यवस्था गरिएको छ।

दुई चरणमा हुने नेतृत्व चयन

रास्वपाको वर्तमान विधानअनुसार नेतृत्व चयन दुई चरणमा हुनेछ। पहिलो चरणमा सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन गरिनेछ। त्यसपछि दोस्रो चरणमा पदाधिकारी चयनको प्रक्रिया अघि बढ्नेछ।

सभापतिबाहेक १० पदाधिकारी निर्वाचित हुने व्यवस्था रहेको छ। जसअन्तर्गत ४ उपसभापति, २ महामन्त्री र ४ सहमहामन्त्री चयन गरिनेछ। यी पदका लागि भने निर्वाचित ९९ केन्द्रीय सदस्यले मात्र उम्मेदवारी दिन पाउनेछन्।

कोषाध्यक्ष, प्रवक्ता र सहकोषाध्यक्ष भने कार्यसमिति बैठकले मनोनयन गर्ने व्यवस्था रहेको छ।

महाधिवेशनको मिति घोषणा भएसँगै हालको केन्द्रीय समिति स्वतः भंग भएर रवि लामिछानेको नेतृत्वमा आयोजक समितिमा रूपान्तरण भएको छ। पार्टीभित्र रवि नै पुनः नेतृत्वमा आउने लगभग निश्चितजस्तै मानिए पनि लोकतान्त्रिक प्रक्रियाअनुसार चुनाव गरिने नेताहरूको भनाइ छ।

भड्किलो महाधिवेशन नगर्ने दाबी

रास्वपाले आफ्नो पहिलो महाधिवेशनलाई खर्चिलो र भड्किलो नबनाउने जनाएको छ।

महाधिवेशनका लागि चितवनको नारायणी किनारसहित विभिन्न खुला स्थान प्रस्ताव गरिएको छ।

रास्वपाले पहिलो महाधिवेशनमार्फत संगठनलाई संस्थागत गर्दै आगामी राजनीतिक ‘रोडम्याप’ तय गर्ने तयारी गरिरहेको छ। त्यसैले पनि यो महाधिवेशनलाई केवल पार्टीको आन्तरिक कार्यक्रम मात्र नभई आगामी नेपाली राजनीतिमा प्रभाव पार्ने घटनाका रूपमा समेत हेरिएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय