
परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा हालसम्म थुनामै रहेको स्पष्ट गर्दै यसअघि सार्वजनिक गरिएको रिहाइसम्बन्धी जानकारी गलत भएको भन्दै माफी मागेको छ।
मन्त्रालयले इरानको स्थानीय अदालतमा झाविरुद्धको मुद्दा विचाराधीन रहेको र उनी रिहा भएको भन्दै आएको प्रारम्भिक जानकारी पुष्टि नभएको जनाएको छ। सोही आधारमा जारी गरिएको विज्ञप्ति र सार्वजनिक अभिव्यक्तिप्रति मन्त्रालयले सोमबार औपचारिक रूपमा माफी मागेको हो।
मन्त्रालयका अनुसार १५ अप्रिलमा इरानका लागि नेपाली अनररी कन्सल साहराम सान्तिएले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भएको भन्दै सूचना दिएका थिए। सोही सूचनालाई आधार मानेर सम्बन्धित महाशाखा प्रमुखमार्फत परराष्ट्र मन्त्री र सचिवलाई जानकारी गराइएको थियो।
त्यसपछि झाको परिवारलाई समेत रिहाइको सूचना दिइएको र सोही दिन मन्त्रालयले अनौपचारिक जानकारीका आधारमा विज्ञप्ति जारी गरेको बताइएको छ। परराष्ट्रमन्त्रीले पनि आफ्नो सामाजिक सञ्जालमार्फत उक्त सूचना सार्वजनिक गरेका थिए।
तर पछि गरिएको थप समन्वय र प्रमाणिकरणपछि झा रिहा नभएको स्पष्ट भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार झा इरानको क्वेसहम टापुमा अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा पक्राउ परेका हुन् र हाल बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा छन्।
इरानी अदालतले उनको मुद्दामा विज्ञ प्रतिवेदन तयार गर्न आदेश दिएको छ। सो प्रतिवेदनका लागि गठित टोलीले काम गरिरहेको र प्रतिवेदन अदालतमा बुझाउने चरणमा रहेको बताइएको छ।
परराष्ट्र मन्त्रालयले मुद्दा इरानी कानुनअनुसार नै अघि बढ्ने भएकाले कूटनीतिक माध्यमबाट निष्पक्ष सुनुवाइ र आवश्यक सहयोगका लागि निरन्तर पहल जारी रहेको पनि जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
