
जिल्ला ट्राफिक कार्यालय, कास्कीले ट्राफिक नियमविपरीत सञ्चालन भएका सवारीसाधनमाथि कारबाही गर्दा गत वैशाख महिनामा ४४ लाख ८ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालयका अनुसार उक्त अवधिमा ५ हजार २६३ सवारीसाधनका चालक कारबाहीमा परेका छन्।
प्रहरी निरीक्षक सुजितकुमार देवकोटा ले ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने चालकलाई नियमित कारबाही गरिएको जानकारी दिए।
कार्यालयका अनुसार वैशाख महिनाभर २२ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।
ट्राफिक कार्यालयले तीव्र गतिका कारण मात्रै १२ वटा दुर्घटना भएको जनाएको छ। यस्तै चालक अनुमतिपत्र बिना सवारी चलाएका पाँच र मादक पदार्थ सेवन गरेर सवारी चलाएका तीन चालक दुर्घटनामा परेको तथ्यांक सार्वजनिक गरिएको छ।
प्रहरी निरीक्षक देवकोटाका अनुसार मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउने र अत्यधिक गतिमा गाडी हाँक्ने चालकलाई लक्षित गरेर ट्राफिक जाँच थप कडा बनाइएको छ।
उनले जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रूपमा सवारी जाँच अभियान सञ्चालन गरिरहेको बताए।
यस्तै जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत ले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जाँचसँगै प्रहरीको व्यवहार र सुरक्षा सावधानीबारे पनि नमुना जाँच कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
