
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित सिटी बसपार्क नजिकै काफल बेचिरहेकी एक महिलामाथि नगरप्रहरीले गरेको व्यवहारको चौतर्फी आलोचना भएको छ। घटना सार्वजनिक भएपछि नगरपालिकाले सम्बन्धित नगरप्रहरीमाथि कारबाही गर्ने र पीडित महिलालाई राहत दिने जनाएको छ।
मंगलबार साँझ कालिकोट स्थायी घर भएकी धमिला चौलागाईं डालोमा काफल राखेर बिक्री गरिरहेकी थिइन्। उनी हाल वीरेन्द्रनगर नगरपालिका–३ मा अस्थायी बसोबास गर्दै आएकी छन्। जीविकोपार्जनका लागि वनबाट काफल टिपेर बजारमा बेच्दै आएको बताइएको छ।
त्यही क्रममा पुगेका नगरप्रहरीले उनको डालो खोसेर काफल पोखिदिएका थिए। घटनाको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि तीव्र आलोचना सुरु भयो।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले गरिब नागरिकलाई सहरमा गरिखान नदिएको भन्दै नगरपालिकाको आलोचना गरेका छन्। कतिपयले काठमाडौं महानगरपालिकामा फुटपाथ व्यवस्थापनका नाममा गरिबमाथि गरिएको व्यवहारसँग समेत यो घटनालाई जोडेर टिप्पणी गरेका छन्।
काठमाडौंमा मेयर बालेन्द्र शाह निर्वाचित भएपछि फुटपाथ हटाउने अभियानका क्रममा ठेलागाडा र साइकल खोसिएको विषय चर्चामा आएको थियो। वीरेन्द्रनगरको घटनालाई पनि धेरैले त्यही शैलीको व्यवहारको रूपमा व्याख्या गरेका छन्।
घटना भाइरल भएपछि वीरेन्द्रनगर नगरपालिकाले बुधबार विज्ञप्ति जारी गर्दै काफल पोख्ने नगरप्रहरीमाथि विभागीय कारबाही गरिने जनाएको थियो। साथै पीडित महिलालाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराइने पनि नगरपालिकाले बताएको थियो।
यसैक्रममा वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले धमिला चौलागाईंलाई आफ्नो कार्यकक्षमा बोलाएर १० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएकी छन्।
महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीमाथि कारबाही हुने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महिलालाई दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गर्ने जानकारी दिएको हो ।

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
