२०८३ श्रावण २६ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

जेनजी अभियन्ता मिरज ढुंगानाको नेतृत्वमा सञ्चालन भइरहेको ‘गरिखान देउ’ अभियानले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन माग गर्दै मोटरसाइकल र्‍याली आयोजना गर्ने भएको छ।

अभियानले पेट्रोलियम पदार्थमा लगाइएको ६ प्रतिशत कर खारेज गर्नुपर्ने माग राख्दै आगामी आइतबार चितवनमा बाइक र्‍याली गर्न लागेको जनाएको छ। र्‍याली भरतपुरको चौबिसकोठीबाट सुरु भएर लायन्सचोक पुगेर समापन हुने कार्यक्रम तय गरिएको छ।

अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आम नागरिकमाथि आर्थिक भार बढाएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। स्वचालित मूल्य प्रणालीका नाममा भइरहेको मूल्यवृद्धि तत्काल रोक्नुपर्ने, वैज्ञानिक मूल्य निर्धारण प्रणाली लागू गर्नुपर्ने तथा नागरिकलाई राहत दिन वैकल्पिक आर्थिक र ऊर्जा नीति अवलम्बन गर्नुपर्ने माग पनि अभियानले अघि सारेको छ।

अभियानका अनुसार पेट्रोलियम पदार्थमा बढाइएको करले विद्यार्थी, मजदुर, किसान, यातायात व्यवसायी लगायत सर्वसाधारण प्रत्यक्ष प्रभावित बनेका छन्। सरकारले अन्तर्राष्ट्रिय बजारको बहाना बनाएर नागरिकमाथि अत्यधिक आर्थिक भार थोपरेको अभियानको आरोप छ।

अभियानले छिमेकी तथा भूपरिवेष्टित राष्ट्र भुटानमा पेट्रोल र डिजेलको मूल्य नेपालभन्दा निकै कम रहेको उल्लेख गर्दै नेपालमा भने उच्च कर नीतिका कारण मूल्य अस्वाभाविक रूपमा बढेको दाबी गरेको छ।

‘जनताको ढाड सेक्नेगरी भइरहेको मूल्यवृद्धि कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन,’ अभियानले जारी गरेको वक्तव्यमा उल्लेख छ।

आन्दोलनलाई थप प्रभावकारी बनाउन र्‍यालीमा व्यापक सहभागिताका लागि अभियानले सर्वसाधारणलाई अपिल समेत गरेको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय