
। वसन्तकालीन हिमाल आरोहण याम अन्तर्गत बुधबार एकै दिन २७४ जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। पर्वतारोहण क्षेत्रमा यो संख्या हालसम्मकै सर्वाधिक मानिएको छ।
पर्वतारोहण सञ्चालक सङ्घका अनुसार वैशाख ३० गतेदेखि सगरमाथा आरोहणको बाटो खुलेपछि निरन्तर आरोहण भइरहेको छ। यसक्रममा बुधबार मात्रै स्वदेशी तथा विदेशी गरी २७४ जना आरोहीले सफलतापूर्वक सगरमाथाको शिखर चुमेका हुन्।
सङ्घका महासचिव ऋषिराम भण्डारी ले पछिल्लो एक सातामा आरोहण गतिविधि उल्लेखनीय रूपमा बढेको बताए। उनका अनुसार बुधबारको संख्या नेपाली पर्वतीय पर्यटन इतिहासमै एकै दिन भएको सबैभन्दा ठूलो सफल आरोहण हो।
उनले पछिल्ला दिनमा हिमआँधीको वेग बढे पनि मौसम अनुकूल रहे आगामी एक साताभित्र थप धेरै आरोही शिखरमा पुग्ने सम्भावना रहेको जानकारी दिए। यस वर्ष सगरमाथामा सर्वाधिक आरोही पुग्ने नयाँ कीर्तिमान बन्न सक्ने अनुमान पनि गरिएको छ।
सगरमाथासँगै अन्य हिमालहरूमा पनि आरोहण गतिविधि बढेको छ। सङ्घका अनुसार ल्होत्से हिमालमा ५० भन्दा बढी र नुप्से हिमालमा १६ भन्दा बढी आरोहीले सफल आरोहण गरिसकेका छन्।
पर्यटन विभागका अनुसार यस वर्ष वसन्तकालीन आरोहण याममा सगरमाथा आरोहणका लागि ४९४ जनाले अनुमति लिएका छन्। प्रत्येक आरोहीसँग सहयोगी शेर्पा समेत रहने भएकाले कुल आरोही संख्या एक हजार हाराहारी पुग्ने अनुमान गरिएको छ।
विभागले जनाएको अनुसार यो संख्या हालसम्मकै उच्च अनुमति संख्या हो। यसअघि सन् २०२१ मा ४०८, २०२२ मा ३२५, २०२३ मा ४७८, २०२४ मा ४२१ र २०२५ मा ४५६ जनाले अनुमति लिएका थिए।
यस वर्ष नेपालसहित ५५ देशका आरोहीले सगरमाथा आरोहण अनुमति लिएका छन्। सबैभन्दा धेरै चीनबाट १०९ जना, अमेरिकाबाट ७७ जना, भारतबाट ६१ जना, बेलायतबाट ३२ जना, रसियाबाट १८ जना र जापानबाट १२ जना आरोही रहेका छन्।
यस आरोहण याममा पर्यटन विभागले ६ हजार मिटरभन्दा माथिका ३० वटा हिमालमा आरोहण अनुमति जारी गरेको छ। तीमध्ये सगरमाथामा सबैभन्दा धेरै ४९४, ल्होत्सेमा १४३, अमादब्लममा १११, मकालुमा ७२ र नुप्सेमा ५६ जनाले अनुमति लिएका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
