श्रम संस्कृति पार्टीका सभापति तथा धरानका मेयर हर्कराज साम्पाङले फेरि एक पटक पुरानै राजनीतिक ढर्राप्रति असन्तुष्टि प्रकट गर्दै देशलाई नयाँ दिशा दिन अरू विकल्प नभएको स्पष्ट बताएका छन्। काठमाडौँको सिफलमा सोमबार आयोजित कार्यक्रममा उनले नेतृत्व परिवर्तन नभएसम्म मुलुकले वास्तविक प्रगति गर्न नसक्ने दाबी गरे।
कार्यक्रममा बोल्दै साम्पाङले देश ‘दुर्दशा’ का मूल कारणहरू सिधै राजनीतिक नेतृत्वमै निहित रहेको आरोप लगाए। उनका अनुसार स्पष्ट भिजनबिना पटक–पटक सत्तामा पुगेका नेताहरूले राष्ट्रिय हितभन्दा निजी लाभ र घर–परिवारलाई प्राथमिकता दिए, जसले मुलुकलाई दीर्घकालीन रूपमा पछाडि धकेल्यो।
उनी भन्छन्, “देश बनाउनभन्दा आफ्नै घर बनाउने सोचले नै गलत सन्धि–सम्झौताहरू जन्मायो।” साम्पाङले युवाशक्ति नै देशको ऊर्जा भएको उल्लेख गर्दै श्रम संस्कृति पार्टीले युवालाई देशमै राखेर विकास निर्माणमा लगाउने नीति लिएको बताए।
उनले पार्टीले एकल बहुमत पाए पाँच वर्षभित्र देशको रुपान्तरण गर्न नसके आफू नागरिकता त्यागेर शरणार्थी बन्न तयार हुने घोषणा गरे। उनका अनुसार नेतृत्वमा बस्ने व्यक्तिले परिणाम देखाउन नसके त्यसको नैतिक मूल्य पनि बुझ्नुपर्छ।
साथै, साम्पाङले पार्टीभित्र अनुचित लाभका लागि प्रवेश गर्नेहरूलाई चेतावनी दिँदै भ्रष्टाचार गर्ने मनसाय लिएर कोही आएको पाइए तत्काल पार्टीबाट बाहिर निकालिने बताए।
