
नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्नुपर्ने माग चर्किँदै गएको छ । पार्टीको सचिवालय बैठकदेखि सुरु भएको यो बहस अब एमालेका भ्रातृ तथा जनवर्गीय संगठनहरूमा पनि फैलिन थालेको छ ।
पदाधिकारी तहमा धेरै नेताहरूले पार्टीको दीर्घकालीन भविष्यका लागि ओलीले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखिरहेका बेला सोही माग संगठन स्तरसम्म पुगेको देखिएको हो ।
यसैबीच, एमालेको प्रमुख विद्यार्थी संगठन अनेरास्ववियुमा पनि ओलीले नेतृत्व छाड्नुपर्ने विषय उठ्न थालेको छ । विद्यार्थी नेताहरूका अनुसार संगठनभित्र पनि नेतृत्व परिवर्तन र पार्टी नेतृत्वप्रति समीक्षा गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ ।
शुक्रबार बसेको अनेरास्ववियुको बैठकमा १९९ सदस्यीय केन्द्रीय कमिटीमध्ये ३४ जना मात्र उपस्थित भएपछि गणपूरक संख्या नपुगेको भन्दै असन्तुष्टि व्यक्त गरिएको थियो । बैठकको व्यवस्थापन र उपस्थितिलाई लिएर समेत प्रश्न उठेको बताइएको छ ।
बैठकमा उपमहासचिव कमल जोशीले मातृ पार्टी एमालेबाट संगठनमा अनावश्यक हस्तक्षेप भइरहेको आरोप लगाउँदै अनेरास्ववियुलाई स्वतन्त्र ढंगले अघि बढ्न दिनुपर्ने बताएका थिए । उनले संगठनलाई पूर्ण रूपमा पार्टीबाट अलग गर्ने वा पार्टी नेतृत्व र नीतिबारे देशव्यापी बहस चलाउने विकल्पमाथि छलफल आवश्यक रहेको सुझाव दिएका थिए ।
त्यस्तै, बैठकमा वर्तमान अध्यक्ष दीपक धामीको भूमिकामाथि पनि प्रश्न उठाइएको छ । विद्यार्थी नेताहरूले उनले अब संगठन नेतृत्व छाडेर मूल पार्टी राजनीतिमा केन्द्रित हुनुपर्ने र नयाँ युवा नेतृत्वलाई अवसर दिनुपर्ने धारणा राखेका छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार, यो विषयलाई औपचारिक निर्णयभन्दा बढी संगठनभित्रको नैतिक बहसको रूपमा उठाइएको हो । तर पछिल्ला घटनाक्रमले एमालेभित्र नेतृत्व परिवर्तनको बहस झन् व्यापक बन्दै गएको संकेत गरेको छ ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
