२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

थानकोट–चन्द्रागिरी–चित्लाङ सडक खण्ड दुई साताका लागि पूर्ण रूपमा बन्द हुने भएको छ।

सडक डिभिजन कार्यालय, काठमाडौंले निर्माण तथा स्तरोन्नति कार्यलाई प्रभावकारी रूपमा सम्पन्न गर्न जेठ १७ गतेदेखि ३० गतेसम्म सडक बन्द गरिने जनाएको हो।

कार्यालयले चन्द्रागिरी नगरपालिका र थाहा नगरपालिकालाई पत्राचार गर्दै पानीघट्टदेखि चित्लाङ बजारसम्मको सडक खण्ड १४ दिनसम्म पूर्ण रूपमा बन्द रहने जानकारी गराएको छ।

सडक डिभिजन कार्यालयका अनुसार उक्त क्षेत्रमा अहिले सडक सुधार तथा स्तरोन्नति कार्य भइरहेको छ। सडकको भौगोलिक बनावट जटिल हुनु, साँघुरा मोड र जोखिमयुक्त क्षेत्र धेरै हुनुका साथै निर्माणस्थलमै सवारी सञ्चालन भइरहँदा काममा समस्या भइरहेको जनाइएको छ।

निर्माण सामग्री ओसारपसार, सडक कटिङ, ढलान तथा अन्य प्राविधिक काम जारी रहेकाले सवारी आवागमन कायम राख्दा दुर्घटनाको जोखिम बढ्ने निष्कर्षसहित सडक बन्द गर्ने निर्णय गरिएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार निर्माण कार्य तोकिएको समयमै सम्पन्न गर्न र यात्रु तथा कामदारको सुरक्षालाई ध्यानमा राख्दै केही समयका लागि सडक पूर्ण रूपमा बन्द गरिएको हो।

यस अवधिमा यात्रु तथा सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। स्थानीय तह, प्रहरी प्रशासन र सम्बन्धित निकायसँग समन्वय गरेर यात्रुलाई सहजता प्रदान गर्ने तयारी गरिएको पनि कार्यालयले जनाएको छ।

सडक डिभिजन कार्यालयले चन्द्रागिरी नगरपालिका र थाहा नगरपालिकालाई आवश्यक सहजीकरण गर्न अनुरोध गरेको छ। साथै सडक बन्द अवधिभर स्थानीय बासिन्दा, यातायात व्यवसायी र सर्वसाधारणलाई सहयोग गर्न तथा वैकल्पिक मार्गबारे जानकारी प्रवाह गर्न आग्रह गरिएको छ।

थानकोट–चित्लाङ सडक संघीय राजधानी काठमाडौंलाई मकवानपुरको चित्लाङ हुँदै हेटौँडासँग जोड्ने महत्त्वपूर्ण सडक मार्गका रूपमा परिचित छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय