
पश्चिम नवलपरासीको सुस्तामा नेपालतर्फ भइरहेको तटबन्ध निर्माण कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले अवरोध गरेको भन्दै सुस्ता बचाउ अभियान नवलपरासी नेपालले आपत्ति जनाएको छ।
अभियानका अनुसार दुवै पक्षले विवादित नभनेको नेपाली भूमिमा समेत तटबन्ध निर्माण गर्न नदिइएको छ। नेपाल पक्षले थारू टोलको सिमलको रुखसम्मको क्षेत्र नेपालकाे भूमि रहेको दाबी गर्दै आएको छ। भारतीय पक्षले भने सिमलको रुखभन्दा करिब एक सय मिटर तल रहेको भेल्लरको रुखसम्म मात्र नेपालको भूभाग रहेको बताउने गरेको छ।
तर अहिले रोकिएको तटबन्ध निर्माण कार्य भने भेल्लरको रुखभन्दा पनि तल अर्थात् नेपालतर्फको क्षेत्रमा भइरहेको बताइएको छ।
सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालका अनुसार भारतले आफ्नो दाबीको क्षेत्रभन्दा करिब ३० मिटर नेपालतर्फ निर्माण भइरहेको तटबन्धको कामसमेत रोक्न खोजेको छ।
नेपालको दाबीअनुसारको सीमाक्षेत्र समेट्ने गरी १३२ मिटर लामो तटबन्ध निर्माणका लागि ठेक्का लागिसकेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत भरतपुरस्थित सिँचाइ तथा जलस्रोत आयोजना कार्यालयले नारायणी नदीको बाढी नियन्त्रणका लागि सुस्तामा करिब १२ करोड रुपैयाँ लागतमा तटबन्ध निर्माणको काम अघि बढाएको हो।
हाल नदीको तल्लो भागतर्फ करिब एक किलोमिटर लामो तटबन्ध निर्माण भइरहेको छ। यसै परियोजनाअन्तर्गत माथिल्लो भागमा थप १३२ मिटर तटबन्ध निर्माणको तयारी गरिएको भए पनि काम सुरु हुन बाँकी रहेको जनाइएको छ।
स्थानीय स्रोतका अनुसार केही दिनअघि एसएसबीका प्रतिनिधिहरू निर्माणस्थल पुगेर काम रोक्न निर्देशन दिएका थिए। त्यसपछि आयोजना पक्षले घटनाबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको थियो।
प्रमुख जिल्ला अधिकारी दीपक नेपालमार्फत गृह मन्त्रालयलाई जानकारी गराइनुका साथै सशस्त्र प्रहरी बललाई पनि एसएसबीसँग समन्वय गरी विषय बुझ्न निर्देशन दिइएको बताइएको छ।
यस विषयमा आइतबार नेपालका सशस्त्र प्रहरी र भारतीय एसएसबीका अधिकारीबीच छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको स्रोतले जनाएको छ। त्यसपछि नेपाली भूमिमा भइरहेको तटबन्ध निर्माण कार्य पनि रोकिएको छ।
सुस्ता बचाउ अभियानका प्रवक्ता जैसवालले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको पछिल्लो अभिव्यक्तिभन्दा अगाडि नै एसएसबीले तटबन्ध निर्माणमा अवरोध गरेको उल्लेख गरे।
उनले सीमा क्षेत्रमा देखिएको समस्या र प्रधानमन्त्रीको अभिव्यक्तिबीच प्रत्यक्ष सम्बन्ध नरहेको बताउँदै यस्ता विषयले दीर्घकालीन रूपमा सीमा समस्या समाधान प्रक्रियामा असर पार्न सक्ने धारणा राखे।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
