
कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज विष्टको संयोजकत्वमा समिति गठन गरेको हो।
मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार मन्त्रीस्तरीय निर्णयमार्फत गठन गरिएको समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन्।
गत जेठ २९ गते वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले टेम्पो भीरबाट खसालेको भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा र आलोचना बटुलेको थियो।
घटनापछि विभिन्न तहबाट छानबिनको माग उठिरहेका बेला प्रदेश सरकारले औपचारिक रूपमा समिति गठन गर्दै घटनाको वास्तविकता पत्ता लगाउने प्रक्रिया अघि बढाएको हो।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
