२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार पौडेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

स्रोतका अनुसार पौडेलमाथि गरिएको अनुसन्धानका क्रममा शेयर कारोबार र सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि विभागले नियन्त्रणमा लिएको हो। सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेका बेला उनलाई पक्राउ गरिएको बताइएको छ।

पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका बेला पौडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। कार्यक्रमस्थलबाटै पक्राउ गरिएका उनलाई हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

प्रहरी उच्च स्रोतका अनुसार पौडेललाई काठमाडौं ल्याउने तयारी भइरहेको छ। हवाई वा स्थलमार्गमध्ये उपयुक्त माध्यमबाट उनलाई राजधानी ल्याइने तयारी गरिएको छ।

यसबीच सम्पत्ति शुद्धीकरण विभागले पौडेलको भैंसेपाटीस्थित निवासमा पनि छापा मारेको छ। विभागको टोली आइतबार दिउँसो करिब १ बजे निवासमा पुगेको थियो।

स्रोतका अनुसार विवादित व्यवसायी दीपक भट्टसँग पौडेलको सम्बन्ध रहेको आशंकामा केही कागजात र प्रमाण खोजी गरिएको छ। विभागले सम्भावित आर्थिक कारोबार र सम्पत्ति सम्बन्धी विवरण संकलन गरिरहेको जनाएको छ।

भैंसेपाटीस्थित आफ्नै घर जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएपछि पौडेल हाल सोही क्षेत्रमा भाडाको घरमा बस्दै आएका छन्। विभागले सोही निवासमा पुगेर अनुसन्धानसँग सम्बन्धित कागजात तथा विवरण खोजी गरेको बताइएको छ।

पौडेललाई पक्राउ गरिएसँगै सम्पत्ति शुद्धीकरण प्रकरणको अनुसन्धान थप गम्भीर मोडमा पुगेको छ। विभागले घटनाबारे औपचारिक विवरण भने सार्वजनिक गरिसकेको छैन।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय