२०८३ श्रावण २५ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा लम्बिँदा व्यवस्थापन खर्च उल्लेख्य रूपमा बढेको छ। महाधिवेशनका कार्यक्रम पटक–पटक प्रभावित भएपछि दैनिक करिब ५० लाख रुपैयाँ अतिरिक्त खर्च थपिएको जनाइएको छ।

आइतबार उद्घाटन भएको महाधिवेशन मंगलबारसम्म सम्पन्न गर्ने प्रारम्भिक योजना थियो। तर प्रतिनिधि छनोट, बन्दसत्र सञ्चालन र प्राविधिक तयारीमा देखिएका ढिलाइका कारण कार्यतालिका प्रभावित भएको हो।

सोमबार बन्दसत्र सञ्चालन हुन नसकेपछि कार्यक्रम एक दिन पछाडि धकेलिएको थियो। मंगलबार पनि बन्दसत्र ढिलो गरी सुरु भएको कारण महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन सकेन। बुधबारसम्म पनि निर्वाचन प्रक्रिया पूर्ण रूपमा सुरु हुन नसकेपछि महाधिवेशन थप लम्बिने संकेत देखिएको छ।

महाधिवेशनको कार्यतालिकाअनुसार बुधबार निर्वाचन सम्पन्न गर्ने योजना थियो। तर उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक हुन ढिलाइ हुँदा निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन।

रास्वपाको विधानअनुसार निर्वाचन दुई चरणमा हुनेछ। पहिलो चरणमा ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान हुनेछ भने दोस्रो चरणमा पदाधिकारीहरूको निर्वाचन गरिनेछ।

निर्वाचन आयोगका प्रमुख भुवन केसीले बिहान ९ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको बताएका थिए। तर उम्मेदवारहरूको अन्तिम सूची तयार हुन ढिलाइ भएपछि मतदान प्रक्रिया पनि पछाडि सरेको छ।

निर्वाचन आयोग स्रोतका अनुसार उम्मेदवारको अन्तिम सूची सार्वजनिक भएपछि दाबी–विरोधको समय दिइनेछ। त्यसपछि उम्मेदवारहरूको विवरण विद्युतीय मतदान मेसिनमा प्रविष्ट गर्नुपर्ने भएकाले थप समय लाग्नेछ।

पार्टीका एक नेताका अनुसार पदाधिकारीतर्फका केही पदमा उम्मेदवारको अन्तिम टुंगो लाग्न बाँकी रहेकाले निर्वाचन प्रक्रिया लम्बिएको हो। उम्मेदवारको सूची अन्तिम भएपछि पनि प्राविधिक तयारीका लागि कम्तीमा पाँच घण्टा समय लाग्ने बताइएको छ।

यस कारण बुधबार साँझ वा मध्यरातितिर मात्रै पहिलो चरणको मतदान सुरु हुन सक्ने अनुमान गरिएको छ। यदि त्यसो भए दोस्रो चरणको पदाधिकारी निर्वाचन बिहीबार मात्रै हुने सम्भावना रहेको छ।

दोस्रो चरणमा दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुनेछ। ती पदमा उम्मेदवार संख्या कम हुने भएकाले बिहीबारसम्म अन्तिम परिणाम आउने अपेक्षा गरिएको छ।

महाधिवेशन लम्बिएसँगै व्यवस्थापन पक्षमा आर्थिक दबाब पनि बढेको छ। आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमका अनुसार अतिरिक्त दिन थपिँदा खाना तथा खाजाको खर्च मात्र दैनिक करिब ५० लाख रुपैयाँले बढेको छ।

महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक, अतिथि तथा सुरक्षाकर्मीसहित दैनिक करिब ६ हजार जनाका लागि खाना र खाजाको व्यवस्था गरिएको छ। रास्वपाले करिब ४ हजार महाधिवेशन प्रतिनिधिका लागि आवास तथा भोजन व्यवस्थापनको जिम्मेवारी लिएको छ।

पार्टीले प्रारम्भिक रूपमा तीन दिनका लागि मात्र भोजन व्यवस्थापनको योजना बनाएको थियो। तर महाधिवेशन लम्बिएपछि थप दिनका लागि पनि खाजा र खानाको व्यवस्था गर्नुपरेको छ, जसले व्यवस्थापन खर्च उल्लेख्य रूपमा बढाएको जनाएको छ।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय