
स्वास्थ्य सेवा विभागले अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा आएको अवरोध, सार्वजनिक खरिद प्रक्रियाको लामो कानुनी व्यवस्था तथा विश्वव्यापी परिस्थितिका कारण रेबिजविरुद्धको खोप व्यवस्थापनमा चुनौती देखिएको जनाएको छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आइतबार भारतबाट विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा चार हजार पाँच सय भायल एन्टिरेबिज खोप नेपाल आइपुग्ने निश्चित भएको छ।
उनले हाल देशभर १० हजार भायल रेबिजविरुद्धको खोप मौज्दात रहेको जानकारी दिँदै असार १६ गते नियमित खरिद प्रक्रियाअन्तर्गत टेन्डर खोलिने र त्यसपछि थप खोप आपूर्ति हुने बताए।
डा. भट्टचनका अनुसार सार्वजनिक खरिद ऐनअनुसार औषधि तथा खोप खरिद गर्दा सबै कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले तत्काल ठूलो परिमाणमा खरिद गर्न कठिन हुने अवस्था छ। अन्तर्राष्ट्रिय परिस्थितिका कारण पनि आपूर्ति प्रणाली प्रभावित भएको उनले बताए।
उनका अनुसार इरान क्षेत्रमा भएको युद्धले हवाई ढुवानी र आपूर्ति शृंखलामा असर पुर्याएको छ। साथै बर्खायाम सुरु भएसँगै कुकुर तथा अन्य जनावरको टोकाइका घटना बढेकाले रेबिज खोपको माग पनि उल्लेख्य रूपमा बढेको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले उपलब्ध खोपको प्रभावकारी व्यवस्थापन गरेर नागरिकलाई उपचारबाट वञ्चित हुन नदिइएको बताए। उनका अनुसार काठमाडौं महानगरपालिकाले पनि आवश्यक खोप उपलब्ध गराएको छ भने डब्लुएचओले आपत्कालीन सहयोगस्वरूप थप खोप पठाएको छ।
यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले रेबिजविरुद्धको खोप पूर्ण रूपमा अभाव नभएको स्पष्ट पारे। केही स्थानमा वितरण व्यवस्थापनमा चुनौती देखिए पनि खोप सेवा नरोकिएको र उपलब्ध मौज्दात आवश्यकता अनुसार वितरण भइरहेको उनले बताए।
डा. भट्टचनले स्थानीय तहले कुकुर तथा अन्य जनावरको व्यवस्थापनमा पनि प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए। संघीय शासन प्रणालीअनुसार खोप वितरण र व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहबीच अझ प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार केही जिल्लामा खोपको अभावजस्तो अवस्था देखिए पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट सेवा नियमित सञ्चालन भइरहेको छ। हाल मौज्दात रहेको खोपका आधारमा टेकु अस्पतालमा करिब ३५ दिनभन्दा बढी समयसम्म सेवा सञ्चालन गर्न सकिने जनाइएको छ।
महानिर्देशक भट्टचनले रेबिजका लक्षण देखिएपछि यो रोग शतप्रतिशत घातक हुने भए पनि समयमै खोप र उपचार पाएमा यसबाट जोगिन सकिने भएकाले ढिलाइ नगरी स्वास्थ्य संस्थामा पुग्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
- वल्ड इन्फो नेपाली
