
भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पद सम्हालेको १०० दिनको कार्यप्रगति सार्वजनिक गर्दै सहकारी बचतकर्ताको रकम फिर्तादेखि सुकुमवासीलाई लालपुर्जा वितरणसम्मका उपलब्धि सार्वजनिक गरेकी छन्।
शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री रावलले १०० दिनमा सम्पन्न भएका ४८ वटा मुख्य काम सार्वजनिक गर्दै सहकारी ठगीबाट प्रभावित १ हजार ७५४ जना साना बचतकर्तालाई २ करोड ६३ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता गरिएको जानकारी दिइन्।
उनका अनुसार सहकारी क्षेत्रको ऋण असुलीलाई पनि तीव्र बनाइएको छ। हालसम्म १५४ जना ऋणीबाट ४ करोड ३२ लाख ८२ हजार ३१० रुपैयाँ ऋण असुल गरिएको मन्त्रालयले जनाएको छ।
भूमि व्यवस्थापनतर्फ सरकारले २९ भूमिहीन दलित तथा सुकुमवासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र (लालपुर्जा) वितरण सुरु गरेको छ। साथै, ६ वटा स्थानीय तहबाट नापी र मालपोत सेवा सञ्चालन गरिएको र वडा तहबाटै डिजिटल सिफारिस गर्न मिल्ने सफ्टवेयर परीक्षणको चरणमा पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार २२३ वटा स्थानीय तहमा रिक्त वा निमित्तको भरमा रहेका प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन गरिएको छ। यस्तै, कर्मचारी ट्रेड युनियनको व्यवस्था हटाइएको, बालुवाटारस्थित प्रधानमन्त्री निवास रहेको जग्गा नेपाल सरकारको नाममा ल्याइएको तथा मालपोत र नापी कार्यालयमा सेवाग्राहीबाहेक अन्य व्यक्तिको प्रवेशमा रोक लगाइएको पनि १०० दिनको उपलब्धिमा समेटिएको छ।
त्यसैगरी बागमती, गण्डकी र मधेश प्रदेशमा निजामती अस्पतालको सेवा विस्तार, सिंहदरबार परिसरबाट निजामती अस्पतालको सेवा एकाइ सञ्चालन, अध्ययन तथा असामान्य बिदामा गएर सम्पर्कविहीन भएका कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाइएको पनि मन्त्रालयले जनाएको छ।
मन्त्रालयले ‘मेरो कित्ता’ मोबाइल एप सार्वजनिक गरी नक्सा प्रिन्ट, फिल्डबुक उत्तरलगायतका सेवा मोबाइलमार्फत उपलब्ध गराउन थालेको जनाएको छ। हालसम्म उक्त प्रणालीमा ४ हजार ७७९ संस्थागत प्रयोगकर्ता आबद्ध भइसकेका छन्।
यस्तै, सहकारीमा भएको अनियमितताबारे बनेको छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन सुरु गरिएको र त्यसमा संलग्न कर्मचारीसँग स्पष्टीकरण माग्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
