२०८३ आश्विन १४ | nepali.worldinfonews.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
पोखरामा हुँदैछ ‘नोमाड बेसक्याम्प – २०२६’: विश्वभरका डिजिटल नोमाड र उद्यमी भेला हुदै | भरतपुरमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु | भोटेकोशी बाढी : ७ हजार ५७० घर ध्वस्त, पुनरुत्थानमा १ खर्ब ३ अर्ब चाहिने | आज ६ संसदीय समितिको बैठक बस्दै | सार्वजनिक सम्पत्तिमा आगजनीदेखि हतियार लुटपाटसम्म : जेनजी हिंसामा १,०१३ पक्राउ, २४९ जेलमा | भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा | प्रधानमन्त्री बालेन्द्र शाहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको छलफल | ग्यासको हाहाकारबीच व्यवसायी भन्छन्– ‘अर्को सिलिन्डर साटेर ग्यास दिन सकिँदैन’ | ‘नाताबाद ’ 'कृपावाद' संस्कृतिको अन्त्य भयो कि रूप फेरियो? | अमेरिकी दूतावासले मेगन बोल्डिनलाई नेपालका लागि कार्यवाहक राजदूत बनायो |

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उल्लेख भएको सुनको स्रोतबारे संसद्मा प्रश्न उठाएको छ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक भीष्मराज आङदेम्बेले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि देखाएको इच्छाशक्तिको स्वागत गर्दै भ्रष्टाचारमा संलग्न जोसुकै भए पनि कानुनको दायरामा आउनुपर्ने बताए।

उनले प्रधानमन्त्री बालेनलगायत सत्तापक्षका नेताहरूले विगत ३५ वर्षसम्म देशमा काम गर्ने वातावरण नभएको भन्दै आएको स्मरण गराउँदै प्रधानमन्त्रीको सार्वजनिक सम्पत्ति विवरणतर्फ ध्यानाकर्षण गराए।

आङदेम्बेले प्रधानमन्त्रीको सम्पत्ति विवरणमा झण्डै दुई सय तोला सुन उल्लेख भएको र मन्त्रिपरिषद्का अन्य सदस्यको पनि उल्लेख्य सम्पत्ति सार्वजनिक भएको भन्दै त्यसको स्रोतबारे जनताले जानकारी पाउनुपर्ने बताए।

उनले सम्पत्ति किन आर्जन गरियो भन्ने प्रश्न आफूहरूले नगर्ने स्पष्ट पार्दै सुन आर्जनको स्रोत भने सार्वजनिक हुनुपर्ने धारणा राखे।

उनले भने, “नेपाली कांग्रेसले किन सम्पत्ति आर्जन गर्नुभयो भन्ने प्रश्न गर्दैन। तर सुन आर्जनको स्रोत के हो ? यो जनताले जान्न पाउनुपर्छ।”

सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिले आफ्नो सम्पत्तिको स्रोत खुलाउनुपर्ने उल्लेख गर्दै विपक्षीको हैसियतले यस्तो प्रश्न उठाउनु आफ्नो जिम्मेवारी भएको उनको भनाइ थियो।

आङदेम्बेले सरकारले सार्वजनिक पद धारण गरेका उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्न समिति गठन गरेको स्मरण गराउँदै छानबिनको सुरुवात आफू र प्रधानमन्त्रीबाटै गर्न प्रस्ताव गरे।

उनले आफ्नो पाँचथरस्थित सम्पत्तिको समेत छानबिन गर्न आग्रह गर्दै प्रधानमन्त्रीको सम्पत्तिको पनि निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए।

उनले प्रधानमन्त्रीको सम्पत्ति अवैध भएको आफूले नभनेको स्पष्ट पार्दै जनताले सार्वजनिक रूपमा उठाइरहेको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने धारणा राखे।

आङदेम्बेले सम्पत्ति छानबिन कानुनको दायराभित्र रहेर निष्पक्ष रूपमा हुनुपर्ने र त्यसका लागि प्रधानमन्त्री स्वयं तयार हुनुपर्ने बताए। साथै, आफूलाई कानुनभन्दा माथि राखेर अरूमाथि मात्र चयनात्मक रूपमा अनुसन्धान गर्न नहुने उनको भनाइ थियो।

Website |  + posts

वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय