
कैलालीमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को नाम जोड्दै ‘बालेनको पुलिस होइन, नेपाल पुलिस हो’ भन्ने अभिव्यक्ति दिएका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बोलाइएको छ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुखसमेत रहेका डीएसपी चौधरीले घोडाघोडी नगरपालिका–५ दरखमा आयोजित लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रममा दिएको अभिव्यक्तिबारे जानकारी लिन उनलाई जिल्ला बोलाइएको हो।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले डीएसपी चौधरीलाई सोधपुछका लागि जिल्ला बोलाइएको पुष्टि गरेका छन्।
कार्यक्रममा बोल्दै चौधरीले, ‘हामी बालेनको पुलिस पनि होइनौँ, नेपाल पुलिस हो। अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो,’ भनेका थिए। उनले थप्दै, ‘केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो। त्यसकारण हामी नेपाल पुलिस हो,’ भन्ने अभिव्यक्ति दिएका थिए।
आफ्नो भनाइ मन परे ताली बजाउन आग्रह गरेपछि कार्यक्रममा सहभागी विद्यार्थीहरूले ताली बजाएको सार्वजनिक भिडियोमा देखिन्छ। उनले नेपाल प्रहरीले लगाउने बर्दी राष्ट्रपतिले समेत लगाउन नपाउने उल्लेख गर्दै आफू २०७० सालमा १३८ जनामध्ये छनोट भएर प्रहरी सेवामा आएको व्यक्ति भएको बताएका थिए।
‘हामी भोट हालेर, टीका लगाएर आएका होइनौँ। दारु–भात खाएर आएकै होइन,’ उनले कार्यक्रममा थप भनेका थिए।
भाषणको क्रममा उनले आफूले बोलेको भिडियो सार्वजनिक नगर्न आग्रह गरेको पनि सुनिन्छ। तर, उनको आग्रहविपरीत उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी सोधपुछको दायरामा परेका हुन्।
यद्यपि, कैलाली प्रहरीले यसलाई छानबिनभन्दा पनि उक्त अभिव्यक्ति कुन सन्दर्भमा र कसरी आएको हो भन्ने विषयमा सामान्य सोधपुछका लागि डीएसपी चौधरीलाई जिल्ला बोलाइएको जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
