
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाट हत्याको धम्की आएपछि गत महिना टर्कीबाट बेलायततर्फ गोप्य रूपमा सानो विमानमा यात्रा गरेको खुलासा भएको छ ।
वासिङ्टन पोस्टका अनुसार जुलाई ८ मा अङ्काराबाट बेलायततर्फ प्रस्थान गर्दा ट्रम्प सुरुमा एयर फोर्स वनमा चढेको देखिए पनि त्यसपछि ठूलो विमान छाडेर सानो सी–३२ए विमानमार्फत बेलायत पुगेका थिए ।
पोस्टसँग कुरा गरेका एक अज्ञात अमेरिकी अधिकारीका अनुसार ट्रम्प अङ्कारामा एयर फोर्स वनमा चढेपछि विमानमा खानपान सामग्री राख्ने कन्टेनरतर्फ गएका थिए । त्यही कन्टेनरमार्फत उनलाई सानो सी–३२ए विमानसम्म पुर्याइएको थियो ।
यसक्रममा सञ्चारमाध्यमका प्रतिनिधि तथा केही अधिकारीलाई ट्रम्प अझै एयर फोर्स वनमै रहेको विश्वास दिलाइएको थियो । ठूलो विमानमा रहेका पत्रकारलाई समेत झ्यालका पर्दा बन्द गर्न भनिएको थियो ।
इरानी प्रोक्सी समूहबाट हुन सक्ने सुरक्षा खतराका कारण ट्रम्पले टर्कीबाट बाहिरिँदा कतारले उपहार दिएको नयाँ बोइङ ७४७–८ विमान प्रयोग नगरेको यसअघि नै अमेरिकी सञ्चारमाध्यमले जनाएका थिए ।
नाटो शिखर सम्मेलनमा सहभागी हुन अङ्कारा पुगेका ट्रम्पले बेलायतस्थित अमेरिकी सेनाका सदस्यलाई नयाँ विमान देखाउन सक्ने उद्देश्यले पुरानो बोइङ ७४७ प्रयोग गर्ने बताएका थिए । तर सुरक्षा खतराका कारण विमान परिवर्तन गरिएको बताइएको थियो ।
यस घटनाले कतारले उपहार दिएको नयाँ एयर फोर्स वनको सुरक्षा क्षमतामाथि समेत प्रश्न उठाएको थियो । उक्त विमानमा पुरानो एयर फोर्स वनमा रहेका सबै सुरक्षा सुविधा, विशेषगरी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली, नभएको बताइएको छ ।
कतारको शाही परिवारले गत वर्ष ट्रम्पको अनुरोधपछि अमेरिकालाई उक्त विलासी विमान उपहार दिएको थियो । सन् १९९० देखि एयर फोर्स वनका रूपमा प्रयोग हुँदै आएका दुई पुराना बोइङ ७४७ विमानको अवस्थाप्रति ट्रम्पले असन्तुष्टि जनाउँदै आएका थिए ।
उपहारमा प्राप्त विमानलाई अमेरिकी राष्ट्रपतिको प्रयोगका लागि तीव्र रूपमा पुनःसंरचना गरिएको थियो । जुलाई १ मा ट्रम्प पहिलोपटक उक्त विमानबाट नर्थ डकोटा पुगेका थिए । त्यसको केही दिनपछि उनले सोही विमानबाट आफ्नो पहिलो विदेशी भ्रमणका क्रममा टर्कीको यात्रा गरेका थिए ।
वासिङ्टन पोस्टको रिपोर्टबारे एएफपीले सोधपुछ गरेपछि ह्वाइट हाउसले नयाँ एयर फोर्स वनको सुरक्षा क्षमताको बचाउ गरेको छ । ह्वाइट हाउसका सञ्चार निर्देशक स्टीभन चेउङले नयाँ विमान अत्याधुनिक रहेको र राष्ट्रपति तथा उनका कर्मचारीको सुरक्षाका लागि उच्चस्तरीय सुरक्षा प्रोटोकल लागू गरिएको बताएका छन् ।
उनले ट्रम्पले अमेरिकाका धेरै शत्रु रहेको र तीमध्ये धेरैको निशाना आफू रहेको बताउँदै आएको उल्लेख गर्दै त्यस्ता खतरासँग जुध्न सरकारले उपलब्ध सबै साधन प्रयोग गरिरहेको बताए ।
वासिङ्टन पोस्टले सार्वजनिक गरेको भिडियोमा ट्रम्प ठूलो एयर फोर्स वनमा सिँढी चढेको केही मिनेटपछि पुरानो विमानबाट खानपान सामग्री बोक्ने ट्रक बाहिरिएको देखिन्छ । त्यसपछि उक्त ट्रकलाई सानो सी–३२ए विमानतर्फ लगिएको देखाइएको छ ।
दुवै विमान बेलायतमा अवतरण गरेपछि ट्रम्प ठूलो विमानबाट सिँढी हुँदै ओर्लिएको भिडियोमा देखिन्छ । त्यसपछि उनी पुनःसंरचना गरिएको नयाँ एयर फोर्स वनमा पुगेका थिए ।
तर ट्रम्पलाई सानो विमानबाट ठूलो विमानमा कसरी स्थानान्तरण गरिएको थियो भन्ने विषय भने स्पष्ट नभएको वासिङ्टन पोस्टले जनाएको छ ।
रासस/एएफपी
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
