
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहको आगामी संयुक्त राष्ट्रसंघको महासभा सहभागितालाई औपचारिकतामा सीमित नगरी नेपालको हितमा उपयोग गर्न सुझाव दिएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै थापाले महासभामा नेपालको प्रस्तुती तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताएका हुन्।
थापाले प्रधानमन्त्री शाहलाई आफ्नो सचिवालयको मात्रै भर नपरी विज्ञ, विश्वविद्यालयका अनुसन्धानकर्ता तथा सम्बन्धित क्षेत्रका विशेषज्ञसँग परामर्श गर्न सुझाव दिए। नेपालभित्र र बाहिर रहेका दक्ष जनशक्तिको ज्ञान र विशेषज्ञता प्रयोग गरेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रस्तुतीलाई प्रभावकारी बनाउन सकिने उनको भनाइ छ।
विशेषगरी जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका समस्या विश्व समुदायसमक्ष तथ्य र वैज्ञानिक प्रमाणसहित प्रस्तुत गर्नुपर्नेमा थापाले जोड दिए। उनले भोटेकोसीमा आएको बाढीजस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपालको न्यून हरितगृह ग्यास उत्सर्जनका बाबजुद जलवायु परिवर्तनबाट ठूलो क्षति व्यहोर्नुपरेको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष सशक्त रूपमा उठाउनुपर्ने बताए।
थापाले नेपालले जलवायु परिवर्तनका कारण भएको हानि र नोक्सानीको विषय मात्र नभई अनुदानमा आधारित जलवायु वित्तका लागि समेत प्रभावकारी रूपमा लबिङ गर्नुपर्ने बताए।
‘हामीले वर्षौँदेखि जलवायु परिवर्तनको मारमा परेको कुरा उठाउँदै आएका छौँ, तर अबका दाबीहरू वैज्ञानिक अध्ययनमा आधारित हुनुपर्छ,’ थापाले भने, ‘नेपालले हानि र नोक्शानीको मुद्दा मात्र नभई अनुदानमा आधारित जलवायु वित्तका लागि पनि कडा लबिङ गर्नुपर्छ।’
उनले यसअघि नेपालका प्रधानमन्त्रीहरूले संयुक्त राष्ट्रसंघको महासभालगायत अन्तर्राष्ट्रिय मञ्चमा उठाएका विषय र पहलहरूको समेत अध्ययन गरेर त्यसलाई निरन्तरता दिन सुझाव दिए। हिमालदेखि महासागरसम्मका विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाइएको उल्लेख गर्दै उनले पूर्वप्रधानमन्त्रीको कार्यकालमा कोप–२८ मा भएका पहल तथा ‘क्लाइमेट जस्टिस’का विषयलाई अहिलेको तयारीसँग जोड्नुपर्ने बताए।
थापाले प्रधानमन्त्रीको महासभा सहभागितालाई ‘ग्राण्ड शो’का रूपमा मात्र नलिन पनि सरकारको ध्यानाकर्षण गराए। उनका अनुसार सही तयारी, वैज्ञानिक प्रमाण र विज्ञहरूको परामर्शका आधारमा नेपालको धारणा प्रस्तुत गर्न सके अन्तर्राष्ट्रिय स्तरमा नेपालको जलवायु तथा अन्य राष्ट्रिय मुद्दालाई थप प्रभावकारी रूपमा स्थापित गर्न सकिन्छ।
प्रधानमन्त्री शाहको आसन्न विदेश भ्रमणका क्रममा नेपालको प्राथमिकता स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै थापाले महासभालाई देशका लागि ठोस उपलब्धि हासिल गर्ने अवसरका रूपमा सदुपयोग गर्न सरकारलाई सुझाव दिएका छन्।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
