
नेपाली सेनाले बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा १२१ जना पसेको तथ्य देखिएको जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा सहायक रथी सुवाशजङ्ग थापाले सरकारले काम रोक्ने निर्णय नगरेसम्म ‘ब्रेक थ्रु’ नभएसम्म टनेलमा खोज तथा उद्धार कार्य जारी रहने बताए।
उनका अनुसार उक्त क्षेत्रमा रहेका ११ वटा जलविद्युत् आयोजनामा परियोजनासँग आबद्ध करिब २ हजार २०० जना भए पनि सबै व्यक्ति सुरुङभित्र प्रवेश गरेका थिएनन्।
‘१२१ जना मात्रै टनेलभित्र पसेको चाहिँ तथ्य देखिन्छ। परियोजनाहरूबाट टनेल लगायत कार्यरत सम्पूर्ण हेर्दाखेरी २२ सय हाराहारी देखिए पनि त्यो टनेलभित्र पसेका व्यक्ति होइनन्, परियोजनासँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्,’ थापाले भने।
सहायक रथी थापाका अनुसार रसुवागढी जलविद्युत् आयोजनामा खोज तथा उद्धार टोली तथा आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस र ‘कन्ट्रोल प्वाइन्ट’ अर्थात् नियन्त्रण कक्षसम्म पुगेर खोजी गरेको छ।
सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले नेपाल सरकारको निर्देशनअनुसार विपद्सँग सम्बन्धित सबै निकायसँग समन्वय र सहकार्य गर्दै खोज तथा उद्धार कार्य भइरहेको जानकारी दिए।
बस्नेतले विदेशबाट नेपाल आएका उद्धारकर्मीसँग समेत सहकार्य गरेर उद्धार कार्य अघि बढाइएको बताए। उनका अनुसार बाढीपछि नेपाली सेनाका ४५ जना सैनिकसमेत बेपत्ता भएका छन्।
यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको दाबी गरे।
उनका अनुसार अहिले हेलिकप्टरलाई खोज तथा उद्धार कार्यमा प्राथमिकता दिइएको छ। त्यसकारण हेलिकप्टरमार्फत राहत पुर्याउनुपर्ने केही स्थानमा राहत सामग्री लैजान नसकिएको उनले बताए।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
