
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि पूर्वसभापति शेरबहादुर देउवासँग संवादको प्रयास गरे पनि भेट हुन नसकेको बताएका छन्।
दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा थापाले देउवाको सचिवालयमार्फत आफूले चार पटक भेटका लागि समय मागेको, तर समय नपाएको जानकारी गराएका छन्।
बैठकमा थापाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘शेरबहादुर दाइले भेटघाटको लागि समेत समय दिनुभएन। संवादमा रहन पनि नचाहनुभएको हिसाबले उहाँले पार्टी एकता नचाहेको प्रस्ट देखिन्छ। मैले चार पटक भानु देउवासँग कुरा गर्दा पनि समय पाइनँ।’
थापाले देउवाको सचिवालय मात्रै नभई देउवा निकट नेताहरू पनि संवादमा आउन नचाहेको बैठकलाई जानकारी गराएको ती नेताले बताए। देउवा सभापति थापासँग संवादमा आउन नचाहनुले पार्टी एकताको चाहना नरहेको बुझ्नुपर्ने उनको भनाइ थियो।
यता, सभापति थापाले कांग्रेसका नेता पूर्णबहादुर खड्का र डा. शेखर कोइरालासँग भएको वार्ता भने सकारात्मक रहेको जानकारी गराएका छन्।
ती नेताका अनुसार थापा पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाप्रति आशावादी छन्। उनीहरूसँग भएको संवादकै आधारमा उनीहरूको मूल माग सम्बोधन गर्ने गरी क्रियाशील सदस्यता अद्यावधिक नगरेकालाई समेत महाधिवेशनमा सहभागी हुन पाउने निर्णय गरिएको हो।
‘पूर्ण र शेखर दाइप्रति उहाँ आशावादी हुनुहुन्छ। संवादले बल पुर्याएकै कारणले उहाँहरूको मूल मागलाई नै सम्बोधन गर्ने हिसाबले क्रियाशील सदस्यता अद्यावधिक नगरेकालाई पनि महाधिवेशनमा सहभागी हुन पाउने गरी निर्णय गरेका हौँ। दुई जना नेताहरूसँगको वार्ताको मूल चाहनाको त्यही थियो,’ ती नेताले भने।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
