
६ जना नागरिक सुरुङभित्र फसेको २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा विदेशी उद्धारकर्मीसहितको टोलीले उद्धार कार्य जारी राखेको छ।
भौगोलिक अवस्था, उद्धारस्थलको कठिन पहुँच र प्रतिकूल मौसमका कारण उद्धारमा समस्या भइरहेको आयोजनाका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले बताएका छन्।
उद्धारमा संलग्न एक अधिकारीका अनुसार सुरुङ रहेको स्थानसम्म पुग्न र त्यहाँबाट फर्किनसमेत कठिनाइ हुने भएकाले उद्धार टोलीले तीव्र गतिमा काम गर्न सकिरहेको छैन।
आयोजनामा ६ जना नागरिक सुरुङभित्र फसेको बताइएको छ। त्यहाँ रहेका अन्य ७१ जना भने सुरक्षित स्थानमा पुगेर ज्यान जोगाउन सफल भएका थिए।
उद्धारका लागि भारतीय सेनाको टोलीसहित करिब ३५ जना उद्धारकर्मी परिचालन गरिएको छ। नेपाली सेनाको धुन्चेबाट खटिएको टोली पनि उद्धार कार्यमा सहभागी छ।
आयोजनाका प्रबन्ध निर्देशक महर्जनका अनुसार उद्धार टोलीले २५० मिटर लामो सुरुङमध्ये अहिलेसम्म करिब १३० मिटरभित्र प्रवेश गरिसकेको छ।
“११ बजेभन्दा अघि जान सकिँदैन, २ बजे निस्कनुपर्ने अवस्था छ,” महर्जनले भने, “भारतीय आर्मीको फोर्स छ । ३५ जना रेस्क्यु टोली खटिएको छ । नेपाल आर्मीको धुन्चेबाट खटाइएको टोली पनि छ ।”
सुरुङभित्रको अवस्था केही खाली हुँदै गएको देखिएकाले उद्धार टोली छिट्टै फसेका व्यक्तिसम्म पुग्न सक्ने अनुमान गरिएको छ। तर सुरुङ पूर्ण रूपमा भरिएको अवस्थामा भने उद्धार थप चुनौतीपूर्ण बन्न सक्ने महर्जनले बताए।
“खाली हुँदै गएको हुनाले छिटो पुगिन्छ कि भन्ने अनुमान छ,” उनले भने, “टनेल भरिएको रहेछ भने झनै समस्या हुन सक्छ । स्लोप भिरालो हुँदै गएकाले सहज हुन्छ कि भन्ने अनुमान छ । यो सबै काम सक्न तीन, चार दिनमा अपरेशन क्लोज हुन सक्छ ।”
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।
